शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

रवि–बालेन सम्झौताप्रति हर्क साम्पाङकाे टिप्पणी : सत्ता र विदेशी हस्तक्षेप संस्थागत गर्ने खेल

आइतबार, पुष १३ २०८२

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच भएको राजनीतिक सहमतिप्रति कडा आलोचना गरेका छन्।

आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सन्देश सार्वजनिक गर्दै साम्पाङले उक्त सहमति ‘केबल सत्ताका लागि’ र ‘देशलाई लिलाम गर्दै विदेशी हस्तक्षेपलाई संस्थागत गर्न’ गरिएको आरोप लगाएका हुन्।

‘कुर्सिको लागि र यो देशलाई लिलाम गर्नका लागि,’ उनले भने, ‘विदेशी हालीमुहाली प्रत्यक्ष महसुस भइसकेको छ, अब त्यसलाई संस्थागत गर्न खोजिँदैछ।’

उनले नाम नलिइ रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहलाई लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन्। विशेषगरी बालेन शाहतर्फ संकेत गर्दै साम्पाङले जेन–जी आन्दोलनका बेला देश अशान्त बन्दा पनि चुपचाप बसेको आरोप लगाए।

साम्पाङले बालेनलाई ‘भित्र–भित्र बसेर डरलाग्दो खेल खेल्ने’ र ‘लुकेर बस्ने’ व्यक्ति भन्दै आलोचना गरे।

‘जो भित्रभित्र लुकेर डरलाग्दो खेल खेल्छ, जेन–जीलाई उक्साएर भिडन्तमा पठाउँछ, ७०–८० जना हताहत हुन्छन्, देश खरानी हुँदा पनि टुलुटुलु हेरेर बस्छ,’ उनले भने, ‘सरकार चलाइदिनुपर्‍यो भनेर अनुरोध गर्दा पनि बाहिर आउँदैन।’

यसैगरी, साम्पाङले एमसीसी सन्दर्भ जोड्दै रवि लामिछाने लक्षित टिप्पणीसमेत गरेका छन्। अन्त्यमा उनले ‘सिंहदरबार जलाउँछु भन्ने र जलाएरै देखाउनेदेखि सावधान रहन’ चेतावनी दिँदै ‘देश सिध्याउने विदेशी दलालहरूबाट सचेत हुनुपर्ने’ अभिव्यक्ति दिएका छन्।