काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच विभिन्न राजनीतिक विषयमा सात बुँदे सहमति भएको छ।
प्रमुख शाहले सामाजिक सञ्जालमार्फत सहमतिपत्रमा हस्ताक्षर गर्दै गरेको तस्बिर सार्वजनिक गर्दै ‘शुभप्रभात’ उल्लेख गरेका छन् । आज बिहान सम्पन्न सहमतिमा रास्वपा सभापति रवि लामिछाने र प्रमुख शाहले हस्ताक्षर गरेका छन् ।
सार्वजनिक विवरणअनुसार नवयुवाले भ्रष्टाचार र कुशासनविरुद्ध सञ्चालन गरेको आन्दोलनको अपनत्व लिँदै आन्दोलनका क्रममा घाइते भएका तथा सहिद परिवारका मागको यथोचित सम्बोधन गर्ने सहमति गरिएको छ।
सहमति अनुसार पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहनेछन् भने आसन्न प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीका उम्मेदवारका रूपमा बालेन्द्र शाहलाई अघि सारिनेछ।
त्यसैगरी, सहमतिपछि स्थापित हुने राजनीतिक दलको नाम, चुनाव चिह्न तथा पार्टी कार्यालय सबै राष्ट्रिय स्वतन्त्र पार्टीकै रहने उल्लेख गरिएको छ। पार्टीको संगठनात्मक संरचनामा युवाको व्यापक सहभागिता सुनिश्चित गर्ने विषय पनि सहमतिमा समावेश गरिएको छ।