बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

रास्वपा–बालेन संवाद तीव्र, ‘फाइनल टच’ बाँकी

शनिबार, पुष १२ २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) पक्षबीच नयाँ राजनीतिक शक्ति निर्माणका विषयमा छलफल तीव्र बनेको छ। विभिन्न चरणका वार्ताबाट सहमतिउन्मुख अवस्था बने पनि औपचारिक एकताको अन्तिम निर्णय भने अझै हुन सकेको छैन।

दुवै पक्षका दुई–दुई जना सदस्य रहेको चार सदस्यीय वार्ता समितिबीचको छलफलमा मिलेर अघि बढ्ने विषयमा आधारभूत समझदारी बनेको बताइएको छ। सहमतिलाई अन्तिम रूप दिन शीर्ष तहको संवाद आवश्यक रहेको दुवै पक्षको निष्कर्ष छ। रास्वपाका राजनीतिक संवाद समितिका सहसंयोजक शिशिर खनाल र बालेन पक्षका तर्फबाट कुमार बेनले ‘फाइनल टच’ दिन गृहकार्य गरिरहनुभएको छ भने वार्तास्थल गोप्य राखिएको छ।

स्रोतका अनुसार पार्टी नेतृत्वमा रवि लामिछाने नै रहने र आगामी निर्वाचनमा बहुमत आए बालेन साहलाई प्रधानमन्त्रीको रूपमा अघि सार्ने विषयमा सहमति भएको दाबी गरिएको छ। रास्वपाको संगठन र चुनाव चिह्न स्वीकार गरेर पार्टीमा जोडिन बालेन सहमत भइसकेको स्रोतले जनाएको छ। अन्तिम ड्राफ्ट तयार भएपछि रवि र बालेनबीच प्रत्यक्ष छलफल गरी सहमति गर्ने तयारी छ।

पार्टी संरचनामा बालेन पक्षलाई समेट्ने, केन्द्रीय समितिमा सहभागिता दिने र सहसभापति बनाउने प्रस्तावसमेत छलफलमा रहेको छ। यद्यपि पदाधिकारी बाँडफाँट र शक्ति सन्तुलनका विषयमा ठोस सहमति अझै जुट्न बाँकी रहेको बताइएको छ। रास्वपाले केन्द्रीय समिति र निर्वाचनमा ४० प्रतिशत हिस्सा आफूले राख्ने, बालेन साह र कुलमान घिसिङलाई २५–२५ प्रतिशत तथा बाँकी १० प्रतिशत ‘जेन–जी’ प्रतिनिधिलाई दिने प्रस्ताव अघि सारेको स्रोतको दाबी छ। तर बालेन पक्षले ठूलो दल हुँदा शक्ति सन्तुलन कसरी कायम हुन्छ भन्ने स्पष्ट खाका नआएको भन्दै सावधानी अपनाएको जनाएको छ।

बालेननिकट नेताहरूले सञ्चारमाध्यम र सामाजिक सञ्जालमा देखिएजस्तो तत्कालै सबै कुरा टुंगिएको अवस्था नरहेको स्पष्ट पारेका छन्। उनीहरूका अनुसार नयाँ शक्ति निर्माणमा सहमति भए पनि एकताको स्वरूप, नेतृत्व संरचना र निर्णय प्रक्रियामा अझै समय लाग्नेछ। समानुपातिक बन्दसूची बुझाउने म्याद (पुस १४) अघि केही निर्णय आउने अपेक्षा गरिएको छ।

यसैबीच, बालेन पक्षले ‘लौरो’ चुनाव चिह्नसहित ‘देश विकास पार्टी’ निर्वाचन आयोगमा अद्यावधिक गरिसकेको छ। एकता सम्भव नभए आ–आफ्नै ढंगले अघि बढ्ने विकल्प पनि खुला राखिएको बताइएको छ।

उता कुलमान घिसिङले भने रास्वपा वा बालेनसँग एकताको विषयमा आफूलाई औपचारिक प्रस्ताव नआएको दाबी गर्नुभएको छ। उज्यालो नेपालका संरक्षकसमेत रहनुभएका घिसिङले रवि लामिछानेसँग कुनै छलफल नभएको बताए पनि स्रोतहरूले आन्तरिक रूपमा विषय टुंगिएको दाबी गरेका छन्।

तीनै पक्षबीच निर्णायक सहमतिका लागि शीर्ष नेताहरूबीच बैठक बस्ने तयारी रहे पनि समाचार तयार पार्दासम्म छलफल सुरु हुन सकेको थिएन। निर्वाचन आयोगले पुस १३ र १४ गते समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने समयसीमा तोकेकाले यही दबाबबीच शनिबारसम्म सबै विषय टुंग्याउने प्रयास तीव्र पारिएको स्रोतले जनाएको छ।