काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र पुरानोको बहसभन्दा एजेन्डा र गन्तव्य नै निर्णायक हुने बताएका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले नीतिविहीन र एजेन्डाविहीन शक्तिलाई ‘नयाँ’ को पगरी गुथाउँदैमा राजनीतिक विकल्प तयार हुन्छ भन्ने सोच भ्रम मात्रै भएको टिप्पणी गरेका छन्।
आफूलाई नयाँ शक्ति भन्ने राष्ट्रिय स्वतन्त्र पार्टी, बालेन्द्र साहसहित भर्खरै स्थापना भएका दलहरूबीच गठबन्धनको प्रयास भइरहेको सन्दर्भमा पोखरेलको यस्तो अभिव्यक्ति आएको हो। उनले पार्टीको इतिहास पुरानो भए पनि नीति र नेतृत्व समयानुकूल अद्यावधिक भइरहेमा दल सधैँ जीवन्त र सान्दर्भिक रहने उल्लेख गरेका छन्।
पोखरेलले नेकपा एमाले नीति र नेतृत्व दुवै पक्षमा निरन्तर परिमार्जन गर्दै आएको पार्टी भएको दाबी गरे। “नेकपा एमाले नेपालका राजनीतिक दलहरूमध्ये नीति र नेतृत्वलाई निरन्तर अद्यावधिक गर्दै आएको पार्टी हो,” उनले भनेका छन्, “यससँग वर्तमान मात्र होइन, भविष्यको नेतृत्व गर्ने स्पष्ट सोच र संकल्प छ। एमालेको यही जीवन्तता र सान्दर्भिकताबाट डराएकाहरू नयाँहरू मिल्नुपर्छ भन्ने कुरा उठाइरहेका छन्।”
नयाँको नाममा चर्चामा आएका रवि लामिछाने, बालेन साह, हर्क साम्पाङ वा कुलमान घिसिङ सबै कुनै न कुनै रूपमा राज्यसत्तामा परीक्षण भइसकेका पात्र भएको महासचिव पोखरेलको भनाइ छ।