काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको अनुकूल वातावरण तयार पार्न सरकारले प्रमुख तीन दलका शीर्ष नेतासँग सघन छलफल सुरु गरेको छ।
यसै क्रममा आज सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग महाराजगञ्जस्थित निवासमा भेट गरी छलफल गरेका छन्। देउवाका अनुसार, “सरकारले निर्वाचनको विश्वसनीय वातावरण बनाइसकेको छैन, छिटो बनाओस्।” उनका सचिवालय सदस्यले उक्त कुरा उद्धृत गर्दै जानकारी दिएका छन्।
खरेलको सचिवालयका अनुसार आजै उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि बेग्लाबेग्लै छलफल गर्ने कार्यक्रम रहेको छ।
छलफलको उद्देश्य निर्वाचनको वातावरणलाई सबै पक्षका लागि विश्वसनीय, निष्पक्ष र सुरक्षित बनाउने तर्फ समन्वय र तयारीलाई तीव्र पार्नु रहेको बताइएको छ।