शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु र कुहिरो

शुक्रबार, पुष ११ २०८२

 काठमाडाै‌ं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल तराईका धेरै स्थानमा हुस्सु लागेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ।

शुक्रबार दिउँसो तराई भूभागका धेरै स्थानमा हुस्सु रहने महाशाखाले जनाएको छ। कोशी, मधेश र बागमती प्रदेशका तराई भूभागमा बिहान केही समय तथा बाँकी तराई भूभागमा मध्यान्नसम्म कुहिरो लाग्ने सम्भावना रहेको छ।

महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ।

शुक्रबार राति तराई भूभागका अधिकांश स्थानमा हुस्सु लाग्ने र सबै प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ।

तराई भूभागमा हुस्सु तथा कुहिरोका कारण बिहानको समयमा दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।