बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

ठमेलका दुई क्यासिनोमा चुम्बक जडित तास र लेन्स प्रयोग गरी ठगी धन्दा , ६ जना पक्राउ

बिहिबार, पुष १० २०८२

काठमाडौं । काठमाडौंको ठमेलस्थित दुईवटा क्यासिनोमा भारतबाट आएको गिरोहले चुम्बक जडित तास र आँखामा लेन्स प्रयोग गरी खेल खेल्दै ठगी गरेको खुलेको छ। बुधबार काठमाडौं जिल्ला प्रहरी परिसरले पत्रकार सम्मेलन गरी क्यासिनो तथा अनलाइन बेटिङ खेलाउने ६ जनालाई पक्राउ गरिएको जानकारी दिएको हो।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार पक्राउ पर्नेहरूमा सुरेश महाजन, दिनेश बर्मा, विक्रम सिंह, प्रमोद मौर्य, चिजा खड्का र भवाडी पाण्डे रहेका छन्। उनीहरूलाई ठमेलस्थित छाया सेन्टरमा रहेको क्यासिनो वाल्डोबाट पक्राउ गरिएको हो।

प्रहरीका अनुसार यस प्रकरणमा विनोद भन्ने जनार्दन उप्रेती, गौरव खत्री, मोनु भन्ने नीरज कुमार, हिरा शेखर भन्ने मल्ली पुरी, कमल खरबन्दा र मुकेश फरार रहेका छन्।

प्रवक्ता एसपी भट्टराईले उक्त गिरोहले भारत, श्रीलंका, नेपाल, भियतनाम र कम्बोडियाका विभिन्न स्थानमा क्यासिनोका इभेन्टहरू सञ्चालन गर्दै आएको जानकारी दिए।

अनुसन्धानअनुसार क्यासिनो प्राइडमा पछिल्लो दुई वर्षदेखि इभेन्ट सञ्चालन हुँदै आएको थियो भने क्यासिनो वाल्डोमा मंसिर २५ गतेदेखि २८ गतेसम्म इभेन्ट आयोजना गरिएको थियो। क्यासिनो वाल्डोमा ‘इन्डियन फलास’ खेल सञ्चालन गर्न सातदेखि १० वटा टेबल बुकिङ गरिएको पनि पाइएको छ।

प्रहरीले उक्त समूहको क्यासिनो प्राइडका सञ्चालक विनय साह र दावा सेट्टी भनिने दावा शेर्पालगायत केही नेपाली व्यक्तिसँग समेत सम्पर्क रहेको पाइएको जनाएको छ। क्यासिनोमा अवैध जुवा खेलाएर क्यासिनो पर्यटनमा नकारात्मक प्रभाव परेको छ । उनले यस सम्बन्धमा थप अनुसन्धान अघि बढाइएको समेत जानकारी दिए ।