काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ। बुधबारदेखि सुरु भएको बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बोलाइएको पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।
हिजोको बैठकमा पार्टीको १५औँ महाधिवेशनको कार्यतालिका संशोधन गर्नुपर्ने माग उठेको थियो। बैठकमा बोल्ने अधिकांश सदस्यहरूले महाधिवेशनको कार्यतालिका व्यवहारिक बनाउनुपर्ने धारणा राखेको प्रवक्ता महतले बताए ।
बैठकमा महामन्त्री गगनकुमार थापाले महाधिवेशन र क्रियाशील सदस्यतासम्बन्धी विषयमा ब्रिफिङ गरेका थिए उनले वडा र क्षेत्रीय अधिवेशन सम्पन्न गरेर सिधै केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव राखे ।
महामन्त्री थापाको उक्त प्रस्तावमाथि नेताहरूले धारणा राख्ने क्रम आजको बैठकमा पनि जारी रहने जनाइएको छ।