शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

भ्रष्टाचार अभियोगमा तीन जनाविरुद्ध आरोपपत्र दायर

बिहिबार, पुष १० २०८२

काठमाडाैं ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको बहुदरमाई नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफासहित तीन जनाविरुद्ध गैरकानुनी लाभ वा हानि पुर्‍याएको अभियोगमा बुधबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ।

आयोगका अनुसार आर्थिक वर्ष २०७९/८० मा बहुदरमाई नगरपालिका वडा नं २ अन्तर्गत सडक मर्मत कार्यका लागि बोलपत्र सूचना राष्ट्रियस्तर वा स्थानीय पत्रिकामा प्रकाशन गर्नुपर्ने कानुनी व्यवस्था हुँदाहुँदै सूचना नै प्रकाशन नगरी झुठा बिल र भर्पाई तयार गराई भुक्तानी दिइ–लिइ भ्रष्टाचार गरेको अभियोग लगाइएको छ।

उक्त प्रकरणमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मुस्तफा, सहलेखापाल उपेन्द्रकुमार साह र जनप्रतिविम्ब दैनिक का प्रकाशक/प्रधानसम्पादक सञ्जयकुमार साहलाई प्रतिवादी बनाइएको छ।

अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसुरमा बिगो रु ६५ हजार कायम गरी सोही ऐनअनुसार कैद तथा बिगोबमोजिम जरिवाना गरी बिगो असुलउपरको मागदाबीसहित विशेष अदालतमा आरोपपत्र दायर गरिएको हो।