शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता, पुस १६ मा औपचारिक घोषणा

दुई वाक्यको सहमतिपत्रमा हस्ताक्षर

बिहिबार, पुष १० २०८२

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच पार्टी एकता हुने भएको छ। एकतासम्बन्धी सहमतिमा बुधबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले हस्ताक्षर गरेका छन्।

पार्टी एकताको औपचारिक घोषणा यही पुस १६ गते राष्ट्रियसभामा आयोजना हुने घोषणासभामार्फत गरिने जनाइएको छ।

दुई वाक्यको सहमतिपत्रमा भनिएको छ, ‘राप्रपा र राप्रपा नेपालबीच एकता गर्ने सहमति गरेका छौं । एकता घोषणा सभा २०८२ पौष १६ गते राष्ट्रिय सभागृहमा हुनेछ ।’

एकताको सहमतिपत्रमा हस्ताक्षर गरेपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले परिवर्तित राजनीतिक सन्दर्भ, शुभेच्छुकहरूको सुझाव र दबाबलाई ध्यानमा राख्दै विगतका कमी–कमजोरी दोहोरिन नदिने प्रतिबद्धतासहित एकताको निर्णय गरिएको बताए। उनले राष्ट्रवादी शक्तिहरूलाई एकतामा आउन आह्वानसमेत गरे ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले समय र परिस्थितिले एकै ठाउँमा आउनुपर्ने अवस्था सिर्जना गरेको उल्लेख गर्दै विगतका कमी–कमजोरीबाट पाठ सिक्दै पार्टीलाई अघि बढाइने बताए। उनले जेन–जी आन्दोलनपछि बढेको राजनीतिक ध्रुवीकरणका सन्दर्भमा राष्ट्रवादी शक्ति एक ठाउँमा आउनुपर्ने निष्कर्षका साथ एकताको निर्णयमा पुगेको स्वीकार गरे ।

यसैबीच अध्यक्ष लिङ्देनले आफ्ना निकटस्थहरूलाई पार्टीभित्र चर्कँदै गएको आन्तरिक अन्तर्विरोध र आसन्न निर्वाचनको पूर्वसन्ध्यामा आवश्यक एकताको तयारी भएको जानकारी गराएको जनाइएको छ।