काठमाडौं । जेन–जी आन्दोलनपछि मुलुकमा बढेको राजनीतिक अन्योलको पृष्ठभूमिमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार भङ्ग गरी सर्वपक्षीय सरकार गठन गर्न १० दिने अल्टिमेटम दिएको छ।
उक्त अवधिभित्र आफ्ना माग सम्बोधन नभए सडक संघर्षमा उत्रिने चेतावनी पार्टीले दिएको छ।
बुधबार नेकपाले राष्ट्रपति रामचन्द्र पौडेललाई १३ बुँदे ज्ञापनपत्र बुझाउँदै सुशीला कार्की नेतृत्वको सरकारको औचित्य समाप्त भइसकेको दाबी गर्दै सरकार भङ्ग गरी नयाँ सर्वपक्षीय सरकार गठन गर्न माग गरेको हो।
ज्ञापनपत्रमा वर्तमान परिस्थितिमा सरकारविरुद्ध सबै राजनीतिक तथा सामाजिक शक्ति एकै ठाउँमा आएको उल्लेख गरिएको छ। साथै, मुलुकलाई थप अस्थिरताबाट जोगाउन सहज र शान्तिपूर्ण राजनीतिक निकासका लागि सर्वपक्षीय सरकार गठन र संसद् पुनर्स्थापना अपरिहार्य रहेको नेकपाको धारणा छ।