बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

पर्यटन विकासका लागि लैङ्गिक संवेदनशील र लचिलो पर्यटन उद्यम आवश्यक : अध्यक्ष ढकाल

बिहिबार, पुष १० २०८२

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको पर्यटन क्षेत्रको दिगो विकासका लागि लैङ्गिक संवेदनशील, दिगो तथा लचिलो पर्यटन उद्यम प्रवर्द्धन आवश्यक रहेको बताएका छन् ।

बुधबार यहाँ आयोजित ‘लैङ्गिक उत्तरदायी, दिगो तथा उत्थानशील पर्यटन उद्यम प्रवर्द्धन’ विषयक उच्चस्तरीय नीतिगत संवाद कार्यक्रममा अध्यक्ष ढकालले पर्यटन क्षेत्र नेपालमा रोजगारी सिर्जना, वैदेशिक मुद्रा आर्जन र स्थानीय जीविकोपार्जनको महत्त्वपूर्ण आधार रहँदै आएको उल्लेख गरे ।

उनले होमस्टे तथा समुदायमा आधारित पर्यटनमार्फत महिला उद्यमशीलता प्रवर्द्धन भइरहेको बताउँदै पर्यटन नेपालको अर्थतन्त्रको प्रमुख आधार भएको धारणा राखे। “देशको आर्थिक विकासमा आन्तरिक तथा बाह्य दुवै पर्यटनको उत्तिकै योगदान छ। पछिल्लो समय आन्तरिक पर्यटन फस्टाउँदै गएको छ, जसले रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्रलाई चयायमान बनाउन ठूलो सहयोग पुर्‍याएको छ,” अध्यक्ष ढकालले भने।

पर्यटन क्षेत्रमा महिलाको सहभागिता क्रमशः बढ्दै गएको उल्लेख गर्दै उहाँले यसले महिलालाई आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेलेको बताए  ।साथै, महासङ्घले महिलाको उद्यमशीलता विकास र नेतृत्व क्षमता अभिवृद्धिका लागि विभिन्न नीतिगत सुधारहरू गर्दै आएको जानकारी दिए ।