काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह आज आयोजना हुँदैछ। विश्वविद्यालयको इतिहासमै पहिलोपटक नोबेल पुरस्कार विजेतालाई प्रमुख अतिथि बनाएर दीक्षान्त समारोह आयोजना गर्न लागिएको हो।
समारोहमा सन् २०१५ मा भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार प्राप्त जापानी प्राध्यापक ताकाआकी काजिता प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। टोकियो विश्वविद्यालयमा आबद्ध प्राध्यापक काजिताले न्युट्रिनोसम्बन्धी अनुसन्धानका लागि नोबेल पुरस्कार पाएका थिए ।
त्रिविका उपकुलपति प्रा डा दीपक अर्यालका अनुसार दीक्षान्त समारोहका लागि सम्पूर्ण तयारी पूरा भएको छ। मण्डप निर्माण, दीक्षित विद्यार्थी तथा अभिभावकका लागि बस्ने व्यवस्था लगायत सबै कार्य सम्पन्न भइसकेको उनले जानकारी दिए ।
यसपटक १६ हजार ३०० भन्दा बढी विद्यार्थी दीक्षित हुनेछन्। दीक्षान्त समारोहमा विद्यार्थी र अभिभावकसहित करिब ४१ हजार जनाको सहभागिता रहने जनाइएको छ। विश्वविद्यालयबाट स्नातक, स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि तह गरी कुल ८९ हजार १९१ विद्यार्थी उत्तीर्ण भएका छन्। तीमध्ये १६ हजार ३८० जनाले दीक्षान्त समारोहमा सहभागिताका लागि निवेदन दिएका उपकुलपति अर्यालले बताए ।
समारोहमा विभिन्न सङ्काय तथा तहका परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने ११ जना छात्रा र १४ जना छात्रलाई पदक प्रदान गरिनेछ। यसपटक मानविकी सङ्कायतर्फ १४ हजार ८५१, व्यवस्थापनतर्फ ४३ हजार ६१०, कानुनतर्फ दुई हजार ३३५ र शिक्षातर्फ १६ हजार ४६७ विद्यार्थी उत्तीर्ण भएका छन्।