वीरगञ्ज । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा वीरगञ्ज नाका हुँदै रु ३९ अर्ब ९७ करोड मूल्यका वस्तु तथा सामग्री विदेशी मुलुक निर्यात भएको छ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष निर्यात ८९ प्रतिशतले वृद्धि भई रु १८ अर्ब ७९ करोडले बढी भएको हो।
गत आर्थिक वर्षको पाँच महिनामा भने वीरगञ्ज नाकाबाट रु २१ अर्ब १८ करोड मूल्यका वस्तु निर्यात भएका थिए। वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टका अनुसार चालु आवमा यस नाका हुँदै हुने निर्यातमा उल्लेखनीय वृद्धि देखिएको छ।
भन्सार कार्यालयका अनुसार चालु आवको पाँच महिनामा रु २० अर्ब ७६ करोड मूल्य बराबरको प्रशोधित भटमासको तेल निर्यात भएको छ। त्यस्तै रु तीन अर्ब सात करोड मूल्यको फलफूलको जुस, रु दुई अर्ब ८७ करोड मूल्यको सूर्यमुखीको प्रशोधित तेल र रु एक अर्ब ९७ करोड मूल्यको प्रशोधित पाम तेल निर्यात भएको छ।
यसैगरी रु एक अर्ब ५० करोड मूल्य बराबरका विभिन्न किसिमका कपडासमेत निर्यात भएको भन्सार कार्यालयले जनाएको छ।