काठमाडौं । सरकारले आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा सदस्यको निर्वाचन सफल बनाउने उद्देश्यले प्रमुख राजनीतिक दलहरुसँग चरणबद्ध वार्ता र संवादमा तीव्रता दिएको छ।
सरकारी उच्चस्तरीय राजनीतिक संवाद समितिले मङ्गलबार नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीको कार्यालय पुगेर निर्वाचनको वातावरण निर्माण गर्न छलफल गरेको हो। समितिको संयोजक उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनील सिंह रहेका थिए भने सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल पनि सहभागी थिए।
सरकारी प्रतिनिधिहरुले गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त दलका कार्यालयको अनुगमन गर्दै दलका माग र सुझाव सरकारसम्म पु¥याउने प्रतिबद्धता व्यक्त गरेका थिए। सानेपास्थित नेपाली कांग्रेस, ललितपुरको च्यासलस्थित नेकपा (एमाले) र पेरिसडाँडास्थित नेपाली कम्युनिष्ट पार्टीको कार्यालयमा पुगेको क्रममा दलका प्रतिनिधिहरुसँग छलफल गरी निर्वाचनको माहोल बनाउन कदम चालिएको जानकारी प्राप्त भएको छ।
सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री खरेलले दलहरुसँगको संवाद उपलब्धिमूलक रहेको उल्लेख गर्दै, “निर्वाचनका लागि यो राजनीतिक दललाई सकारात्मक दबाब हो। हामी चुनाव चाहन्छौँ, तयारी गरिरहेका छौँ भन्ने स्पष्ट सन्देश हो,” भने ।
नेपाल कम्युनिष्ट पार्टीका संयोजकले पनि संसद् पुनःस्थापना नहुने र अब निर्वाचनमै जानुपर्ने स्पष्ट धारणा राखेका छन्। मन्त्री सिन्हाले आन्दोलनका क्रममा बरामद भएका अधिकांश हतियार र कैदीबन्दीको नियन्त्रणका कारण सङ्गठित अपराधको सम्भावना नरहेको उल्लेख गर्दै, निर्वाचनको वातावरण बनिरहेको जानकारी दिए।
मङ्गलबार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानमन्त्री सुशीला कार्की, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितको बैठक बसेको थियो। बैठकले फागुन २१ गते हुने निर्वाचन सफल बनाउन आवश्यक वातावरण निर्माण गर्ने समझदारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।