काठमाडौं । भाद्र २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ ले अनुसन्धानमा रहेका पूर्व गृहसचिव गोकर्णमणि दुवाडी, नेपाल प्रहरीका पूर्व महानिरीक्षक चन्द्रकुवेर खापुङ र काठमाडौं जिल्लाका पूर्व प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको विदेश भ्रमण रोक्का लगाउने र आयोगको स्वीकृतिबेगर काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था फुकुवा गर्ने निर्णय गरेको छ।
सचिवालयतर्फबाट मंगलबार उपसचिव कमल प्रसाद पाण्डेले जारी गरेको विज्ञप्तिमार्फत यो जानकारी दिइएको छ। आयोगले तीनै व्यक्तिसँग यसअघि नै बयान लिइसकेको छ।
त्यसैगरी आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत स्थानहद लगाएको थियो। एमालेले भने आयोगको उक्त निर्णयको विरोध गर्दै आएको छ।
सरकारी राजनीतिक सम्वाद समितिका सदस्यहरुसँगको भेटवार्तामा एमाले नेताहरुले यो विषय उठाएका थिए। सो क्रममा सरकारी प्रतिनिधिहरुले नेताहरुलाई लगाइएको स्थानहद फुकुवा गर्न सकिने जवाफ दिएका छन्।
यसैबीच सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेकपा एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाइएको स्थानहदका विषयमा पनि पुनर्विचार हुने संकेत दिएका छन्।
मन्त्री खरेलका अनुसार, एमालेले आगामी निर्वाचनमा भाग लिने प्रतिवद्धता जनाएपछि सरकारले पनि निर्वाचनको वातावरण बनाउन सकेसम्म लचकता अपनाउने प्रयास गर्नेछ। भाद्र २३ र २४ को घटनाको छानबिन गर्दै रहेको आयोगको कामलाई ध्यानमा राख्दै सरकारले आफ्नो अधिकारभित्र हुने रूपमा स्थानहद हटाउने वा अन्य आवश्यक व्यवस्थामा काम गर्ने तयारी गरेको उनले जानकारी दिएका छन्।