शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

शीतलहरको चपेटामा सिरहा: चोक–चोकमा दाउरा बालिँदै, विद्यालयमा घट्यो विद्यार्थी उपस्थिति

बुधबार, पुष ९ २०८२

सिरहा । जिल्लामा बढ्दो शीतलहरका कारण जनजीवन प्रभावित भएको छ। चिसो हावाले लहान बजारसहित ग्रामीण क्षेत्रको दैनिकी कष्टकर बनेको छ। शीतलहरबाट बालबालिका, वृद्धवृद्धा तथा विपन्न समुदाय सबैभन्दा बढी प्रभावित भएका छन्।

चिसो बढेसँगै स्थानीयवासी बिहानैदेखि घुर तापेर बस्न थालेका छन् भने विद्यालयहरूमा विद्यार्थीको उपस्थिति उल्लेख्य रूपमा घट्दै गएको छ। अत्यधिक चिसोका कारण विशेषगरी विपन्न परिवारका बालबालिकासँग न्यानो लुगाको अभाव हुँदा नियमित रूपमा विद्यालय जान नसकेको माध्यमिक विद्यालय पडरिया थारू टोलका प्रधानाध्यापक मनोज यादवले जानकारी दिए ।

चिसोको प्रभाव न्यूनीकरण गर्न लहान नगरपालिकाले आज बिहानैदेखि बजार क्षेत्रका विभिन्न चोकचोकमा दाउरा बाल्ने व्यवस्था सुरु गरेको छ। नगरप्रमुख महेशप्रसाद चौधरीका अनुसार ग्रामीण चोक, राधाकृष्ण चोक, गणेश चोक, हनुमानस्थान, हुलाक चोकलगायत स्थानमा दाउरा बाल्ने काम थालिएको छ।

“बढ्दो चिसोबाट नगरवासीलाई जोगाउन तत्काल राहत कार्यक्रम सुरु गरेका छौँ,” नगरप्रमुख चौधरीले भने, “बजार क्षेत्रका प्रमुख चोकमा दाउरा बालिएको छ र वडासँग समन्वय गरेर २४ वटै वडाका आवश्यक स्थानमा दाउरा वितरण गर्ने तयारी भइरहेको छ।” उनका अनुसार गरिब तथा विपन्न समुदायलाई लक्षित गरी ५०० परिवारलाई फाइबरका सिरक वितरण गर्ने तयारीसमेत गरिएको छ।

यसैबीच, डिभिजन वन कार्यालय लहानले पनि जाडो छल्न दाउरा व्यवस्थापनमा सहयोग गरिरहेको जनाएको छ। कार्यालयका सूचना अधिकारी राधेश्याम चौधरीका अनुसार जिल्लाका मुख्य बजार क्षेत्रमा दाउरा उपलब्ध गराउन पाँच लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।

लगातारको शीतलहर र मौसममा आएको अचानक परिवर्तनका कारण अवस्था गम्भीर बन्दै गएपछि जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बस्ने तयारीसमेत गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार जिल्लाका १७ वटै स्थानीय तहका प्रमुखसँग छलफल भइरहेको छ र छिट्टै बैठक बसेर दाउरा उपलब्ध गराउने, न्यानो कपडा वितरण गर्ने लगायत आवश्यक निर्णय गरी कार्यान्वयन गरिनेछ।

लगातारको शीतलहरले जनजीवन प्रभावित भइरहेकाले सरकारी निकाय तथा स्थानीय तहले राहत तथा सुरक्षाका लागि सक्रियता बढाएका छन्।