काठमाडौँ। तराई क्षेत्रमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही दिनसम्म कायमै रहने भएको छ ।
जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म हुस्सु र कुहिरोको अवस्था उल्लेख्य रूपमा सुधार नहुने जनाउँदै सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ । विभागका अनुसार यसले जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रत्यक्ष प्रभाव पार्न सक्छ ।
विभागका मौसमविद् हरिप्रसाद दाहालका अनुसार आज पनि तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ । उनले भने, “आगामी तीन दिनमा उल्लेख्य सुधारको सम्भावना नरहेकाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातलगायत क्षेत्रमा असर पर्ने देखिन्छ । त्यसैले सबैलाई सतर्क रहन अनुरोध छ ।”
उनका अनुसार मंगलबार बिहान काठमाडौँको तापक्रम यो वर्षकै सबैभन्दा कम रेकर्ड भई ४ दशमलव ९ डिग्री सेल्सियसमा झरेको थियो । पश्चिमी वायु सक्रिय हुन नसक्नु र पानी पार्ने प्रणाली नदेखिनुका कारण हुस्सु र कुहिरो थप बढेको मौसमविद् दाहालले बताए ।
मौसमविद्हरूले चिसो मौसममा न्यानो लुगा लगाउन, तातो खानेकुरा खान तथा विशेषगरी बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीले विशेष सावधानी अपनाउन सुझाव दिएका छन् ।