काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले महान्यायाधिवक्ता कार्यालयले फौजदारी न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगिरहेको बताएका छन्।
महान्यायाधिवक्ता कार्यालयको ७५औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले अभियोजनमा सुधार भइरहेको र अनुसन्धान तथा अभियोजन अझ वैज्ञानिक ढङ्गले सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
प्रधानन्यायाधीश राउतले न्याय केवल आदेश र फैसलामा सीमित नरहेको, कार्यान्वयन र न्यायसम्मको पहुँच सुनिश्चित गर्दा मात्र अभियोजन प्रभावकारी हुने बताए। नागरिक प्रश्न र समाजको जवाफलाई स्वाभाविक रूपमा लिएर अघि बढ्नुपर्ने आवश्यकतामा पनि उनले जोड दिए।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले अभियोजनमा सफलता पाउन अनुसन्धान वस्तुनिष्ठ र सुक्ष्म हुनुपर्ने बताए। वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले पीडितलाई न्याय केन्द्रमा राखेर अभियोजन सुधार गर्नुपर्ने तथा संविधानले मुद्दा चलाउने वा नचलाउने जिम्मेवारी दिएको स्मरण गराइन् ।
मल्लले डिजिटल प्रविधिको प्रयोग र डिजिटल अपराध न्यूनीकरणमा ध्यान दिनुपर्नेमा पनि जोड दिइन् ।
महान्यायाधिवक्ता सविता बरालले सात दशकदेखि कार्यालयले फौजदारी न्याय प्रणाली सुधारमा निरन्तर काम गर्दै आएको बताइन् भने, लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले सरकारी वकिलको काम र महिला सहभागिताबारे जानकारी दिए। नेपाल बार एशोसिएशनका अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले गरिब र पीडितलाई न्याय दिलाउन सरकारका वकिलहरूले ध्यान दिनुपर्नेमा जोड दिए ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले अभियोजन प्रणालीलाई व्यवस्थित र प्रविधिमैत्री बनाउँदै काम भइरहेको जानकारी दिएका छन्। नायव महान्यायाधिवक्ता सञ्जीवराज रेग्मीले भदौ २३–२४ मा कार्यालयमा भएको क्षति मर्मत गरी सेवा सञ्चालनमा आएको जानकारी दिए ।
सो अवसरमा ‘सर्वोत्कृष्ट सरकारी वकिल’ को सम्मान सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेलाई प्रदान गरिएको थियो भने १३ जना सरकारी वकिल र कर्मचारीलाई उत्कृष्ट कार्यसम्पादनको पुरस्कार प्रदान गरिएको थियो।