काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिका मेयर बालेन साहबीच आगामी राजनीतिक यात्रा सँगै गर्ने समझदारी बनेको छ।
स्रोतका अनुसार यस अन्तर्गत यसपटकको चुनावमा बालेनलाई भावी प्रधानमन्त्रीको रूपमा अघि बढाउने योजना तय गरिएको छ भने अर्को चुनावमा बालेनले रविलाई सहयोग गर्ने सहमति भएको छ।
गएको राति रास्वपा केन्द्रीय सदस्य असिम साहको म्युजिक कम्पनीको कार्यालय भवनमा बालेन र रवि लामिछानेबीच करिब ७ घण्टा लामो वार्ता भएको थियो।
वार्तापछि उनीहरू एउटै गाडीमा बाहिरिएका थिए। विगतमा कहिलेकाँही भेट भए पनि यो स्तरको गहन र लामो छलफल पहिलोपटक भएको हाे।
वार्तापछि दुवै नेताले छुट्टाछुट्टै गएर पुराना दलहरूले बाजी मार्ने र जेन–जी आन्दोलनको मर्म मर्ने जोखिम रहेको निष्कर्षमा पुगेका छन्।
रविले सार्वजनिक रूपमा भनेका ‘नयाँ शक्तिहरू मिल्नका लागि पहिलो त्याग रवि लामिछानेले गर्नेछ’ भन्ने अभिव्यक्तिले बालेनलाई नेतृत्व स्वीकार गर्न र शक्ति बाँडफाँटमा लचिलो बन्न तयार भएको संकेत गरेको बुझिन्छ।
वार्तामा बालेन निकटस्थहरूले दर्ता गरेको नयाँ दल र रास्वपा बीचको सहकार्य मोडलबारे पनि छलफल भएको छ। मध्यस्थकर्ता असिम साहले यसलाई ‘कथाको सुखद सुरुवात’ बताए अनुसार सहमति नजिक पुगेको संकेत पनि स्पष्ट भएको छ।
राजनीतिक सहकार्यमा बालेन रास्वपाको घण्टी चुनाव चिह्न स्वीकार गर्न तयार देखिएका छन्। तर पार्टीको नाममा भने अझै छलफल जारी छ।
दुवै नेताबीच मिल्न बाँकी विषयमा निरन्तर संवाद राख्ने समझदारी भएको जनाइएको छ। यसैक्रममा बालेनसँग एकता कायम राख्न र शक्ति बाँडफाँटमा रवि लचिलो रहेको स्रोतले बताएको छ।