काठमाडौं । संयुक्त जेनजी आन्दोलनले आजको प्रदर्शनमा प्रहरी दमन भएको भन्दै गम्भीर आपत्ति व्यक्त गर्दै त्यसको घोर भत्र्सना गरेको छ। आन्दोलनका संयोजक मिराज ढुंगाना र कमाण्डर सुनिल सिंहले संयुक्त विज्ञप्ति जारी गर्दै दमनको निन्दा गरेका हुन्।
विज्ञप्तिमा उनीहरूले आफूहरू सधैं वार्ता तथा संवादमार्फत आफ्ना जायज मागहरूको समाधान खोज्ने पक्षधर रहेको स्पष्ट पारेका छन्। तर, जेनजी आन्दोलनका मागहरू पूरा नभएसम्म आन्दोलन अझ संगठित र सशक्त रूपमा निरन्तर अघि बढ्ने पनि जानकारी दिइएको छ।
संयुक्त जेनजी आन्दोलनले चेतावनी दिंदै भनेको छ, “शान्तिपूर्ण आन्दोलनलाई उत्तेजित बनाएर जेनजीमाथि दमन गरिएमा त्यसबाट उत्पन्न सम्पूर्ण क्षतिको जिम्मेवारी सुशीला कार्की नेतृत्वको सरकारले लिनुपर्नेछ।”
आन्दोलन मंगलबार विहान ११ बजे एकताबद्ध भई अझ सशक्त हुने जानकारी दिँदै ढुंगाना र सिंहले सबै जेनजी, नागरिक समाज, विद्यार्थी, श्रमिक, बुद्धिजीवी तथा न्यायप्रेमी जनसमुदायलाई सहभागी हुन अपिल गरेका छन्।
विज्ञप्तिमा उनीहरूले जोड दिए, “संयुक्त जेनजी आन्दोलन डर, धम्की र दमनबाट विचलित हुने छैन। न्याय, समानता र उत्तरदायी शासन स्थापनाका लागि हाम्रो संघर्ष जारी रहनेछ।”
