बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

महाधिवेशनका निर्णय कार्यान्वयनबारे एमालेको प्रदेश र जिल्ला तहको संयुक्त भर्चुअल बैठक

मंगलबार, पुष ८ २०८२

काठमाडौं । नेकपा (एमाले) ले ११औँ महाधिवेशनबाट पारित निर्णय र सन्देश देशभर प्रभावकारी रूपमा पुर्‍याउने उद्देश्यसहित आज सबै प्रदेश तथा ७७ जिल्ला कमिटीको संयुक्त भर्चुअल बैठक आयोजना गरेको छ।

पार्टी महासचिव शंकर पोखरेलले दिउँसो २ बजे भर्चुअल माध्यमबाट बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।

केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार बैठकमा जिल्ला कमिटीका पदाधिकारी, सचिवालय सदस्यदेखि प्रदेश कमिटीका सम्पूर्ण सदस्यको सहभागिता रहनेछ। उनले भने, “महाधिवेशनबाट भएका प्रारम्भिक निर्णय र नेतृत्वले पाएको जिम्मेवारीलाई जनमानसमा स्पष्ट पार्ने उद्देश्यले यो बैठक आयोजना गरिएको हो।”

बैठकमार्फत पार्टीले स्थानीय तहमा भइरहेका गतिविधिको समीक्षा गर्ने र महाधिवेशनले तय गरेको राजनीतिक कार्यदिशालाई अनुमोदन गर्दै त्यसको प्रभावकारी कार्यान्वयनका लागि पार्टी पंक्तिलाई आवश्यक निर्देशन दिने तयारी गरेको छ।

एमाले कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाका अनुसार बैठकसम्बन्धी जानकारी सबै जिल्ला कमिटीलाई पूर्वमै गराइसकिएको छ।