काठमाडौँ । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि १० लाख १६ हजार नयाँ मतदाता थपिएका छन्। निर्वाचन आयोगका प्रवक्ता नारायण भट्टराईका अनुसार हाल आयोगका कर्मचारीले नयाँ थपिएका मतदाताको विवरण रुजु गर्ने तथा दोहोरो परेका नाम हटाउने कार्य गरिरहेका छन्।
प्रवक्ता भट्टराईले भने, “अहिले नयाँ मतदाताको नाम रुजु गर्ने र दोहोरो नाम परेको भए त्यसलाई हटाउने काम भइरहेको छ। अन्तिम सूची सार्वजनिक गर्दा योभन्दा केही कम संख्या हुन सक्छ। पुस १५ गते अन्तिम मतदाता नामावली प्रकाशित गरिनेछ।”
आयोगका अनुसार २०६४ साल फागुन २० गतेसम्म जन्मिएका नेपाली नागरिकले आगामी निर्वाचनमा मतदान गर्न पाउनेछन्। २०७९ सालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कुल एक करोड ८० लाख मतदाता थिए।
राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गर्न मिल्ने व्यवस्था लागू भएपछि अनलाइनमार्फत नाम दर्ता गराउनेको संख्या उल्लेख्य रूपमा बढेको आयोगले जनाएको छ। आयोगले मतदाता नामावलीमा नाम समावेश गराउन गत कात्तिक ३० गतेसम्म समय दिएको थियो भने पछि थप सात दिनको म्यादसमेत प्रदान गरिएको थियो।