बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

मेची भन्सारबाट पाँच महिनामा २० अर्ब १४ करोड रुपैयाँ बराबरको आयात

मंगलबार, पुष ८ २०८२

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट २० अर्ब १४ करोड ४० लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी तथा भन्सार अधिकृत ईश्वरकुमार हुमागाईँका अनुसार यो अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा १ अर्ब ४१ करोड ७६ लाख रुपैयाँ, अर्थात् ७.५७ प्रतिशतले बढी हो। गत आवको पहिलो पाँच महिनामा १८ अर्ब ७२ करोड ६३ लाख रुपैयाँ बराबरको वस्तु तथा सामान आयात भएको थियो।

यद्यपि, चालु आवको पहिलो पाँच महिनामा यस नाकाबाट हुने निर्यातमा कमी आएको छ। सो अवधिमा १० अर्ब ७१ करोड ५४ लाख रुपैयाँ बराबरको सामान विभिन्न मुलुक निर्यात भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा ११ अर्ब ४७ करोड ९३ लाख रुपैयाँ बराबरको निर्यात भएकोमा यस वर्ष ६.६५ प्रतिशतले घटेको कार्यालयले जनाएको छ।

पूर्वीनाकाबाट निर्यात हुने प्रमुख वस्तुमा अलैँची, चिया, प्लाइउड, भेनिउर सिट, छुर्पी, अम्रिसो, अदुवा, सुठो, मुसुरो तथा फलामे पातालगायत रहेका छन्। त्यस्तै, आयात हुने मुख्य वस्तुमा पेट्रोलियम पदार्थ, तयारी कपडा, तरकारी, यातायातका साधन तथा तिनका पाटपुर्जा, सिमेन्ट क्लिङ्कर, शृङ्गार सामग्री, कफी, प्लास्टिकका कच्चा पदार्थ, जुत्ता–चप्पल तथा खनिजजन्य उत्पादन समावेश छन्।