काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहबीच भएको मध्यरातको भेटवार्ता सकारात्मक रहेको सहभागी नेताहरूले बताएका छन्।
सोमबार राति काठमाडौँस्थित असिम साहको म्युजिक कम्पनी जी–२१ को कार्यालयमा रवि र बालेनबीच भेटवार्ता भएको हो। भेटपछि दुवै नेता एउटै गाडीमा सँगै बाहिरिएको दृश्य पनि देखिएको थियो। भेटमा सहभागी असिम साहका अनुसार छलफल सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको हो।
भेटवार्तामा भएका ठोस विषयहरू सार्वजनिक नगरिए पनि मुलुकको वर्तमान राजनीतिक अवस्था, आपसी समझदारी र मिलेर अघि बढ्नुपर्ने आवश्यकताका विषयमा सकारात्मक संवाद भएको नेताहरूको भनाइ छ। पछिल्लो समय दुवैबीच देखिएको राजनीतिक दूरी घटाउने प्रयासका रूपमा पनि यो भेटलाई हेरिएको छ।
भेटको समन्वय गरेका रास्वपा नेता असिम साहले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै लेखेका छन्, ‘अन्ततः कथाको सुखद सुरुवात भएको छ। रवि र बालेन—दुई दाजु–भाइको मिलन भएको छ। यो व्यक्तिको मात्र होइन, देशले खोजेको आशाको मिलन हो। हामी सबै नेपालीलाई बधाई।’