काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंले हालको परिस्थितिमा निर्वाचन गराउनुको कुनै अर्थ नरहेको दाबी गरेका छन् ।
आइतबार (हिजाे) आयोजित पत्रकार सम्मेलनमा प्रसाईंले भने, “भ्रष्टाचारी र हत्याराहरूलाई बाहिर छोडेर गरिने निर्वाचनको कुनै औचित्य छैन। जनताले अब नेताहरूलाई गाउँ छिर्न दिनु हुँदैन।” उनले भ्रष्टाचार र अपराधिक गतिविधिका कारण देश थप संकटमा धकेलिएको पनि औँल्याए ।
पत्रकार सम्मेलनमा प्रसाईंले देशको आर्थिक अवस्था निकै जर्जर बनेको उल्लेख गर्दै बैंक, लघुवित्त र सहकारीको उच्च ब्याजदरका कारण सर्वसाधारण र महिलाहरू आत्महत्या गर्न बाध्य भएको आरोप लगाए। ६ प्रतिशतमा सम्झौता गरेर १८ प्रतिशतसम्म ब्याज असुल्ने प्रवृत्तिले नागरिकहरू घरबारविहीन भएको उनको दाबी थियो।
उनले आफूको माग पूरा गर्न पुस १० सम्मको अल्टिमेटम समेत दिएका छन्। अल्टिमेटमसम्म माग पूरा नभए निर्वाचन हुन नसक्ने उनको चेतावनी छ।