काठमाडौँ । नेकपा एमालेका पूर्वउपमहासचिव प्रदीप ज्ञवालीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजतन्त्र पुनःस्थापना हुन सक्ने आशयको अभिव्यक्ति दिएकोप्रति कटाक्ष गरेका छन् ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले आफू उभिएको लोकतान्त्रिक धरातलप्रति नै विश्वास किन डगमगाएको भनी प्रश्न उठाएका छन् ।
‘पूर्वराष्ट्रपतिको भनाइ सुन्दा उदेक लाग्यो, आफैँ उभिएको धरातलप्रति विश्वास किन धरमरायो ?’ उनले लेखेका छन् ।
ज्ञवालीले पार्टीको औपचारिक र अनुमोदित नेतृत्वलाई चुनौती दिने गरी महाधिवेशनलगत्तै केही नेताहरूले छुट्टै भेला गरेको घटनाप्रति पनि असन्तुष्टि व्यक्त गरेका छन् ।
उनका अनुसार महाधिवेशन पार्टीको सर्वोच्च निकाय हो र त्यसले गरेका निर्णय अन्तिम मानिनुपर्छ । महाधिवेशनपछि पनि पुरानै मुद्दा बोकेर ‘दुई लाइनको सङ्घर्ष’, ‘प्रतिवाद’ र ‘खोक्रो एकता’को बाटो हिँड्नुले पार्टीलाई अन्त्यहीन बहसको क्लबमा रूपान्तरण गर्ने खतरा रहेको उनले उल्लेख गरेका छन् ।
ज्ञवालीले एक वर्ष अगावै महाधिवेशन आयोजना गर्नुको प्रमुख कारण नेतृत्वको वैधता र स्वीकार्यतामाथि उठाइएका प्रश्नको स्पष्ट जवाफ दिनु रहेको बताउँदै महाधिवेशनले ती सबै प्रश्नको द्विविधारहित समाधान गरिसकेको दाबी गरेका छन् ।
तीन महिनाको छोटो अवधिमै पार्टीलाई तंग्र्याएर एक बिन्दुमा ल्याइपुर्याइएको उल्लेख गर्दै उनले अब ऊर्जा लोकतन्त्र बहाली, संविधान रक्षा, स्थिरता, सुशासन, समृद्धि र राष्ट्रिय स्वाभिमानको यात्रामा केन्द्रित गर्नुपर्नेमा जोड दिएका छन् ।
पूर्वराष्ट्रपतिले राजतन्त्र पुनःस्थापना हुन सक्छ भन्ने अभिव्यक्ति दिनु लोकतान्त्रिक संघर्ष र उपलब्धिप्रति नै अविश्वासको संकेत भएको उनको टिप्पणी छ ।