काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत छन सोङले आज बिदाइ भेट गरे।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा नेपाल–चीन द्विपक्षीय सम्बन्ध सुदृढीकरण, आर्थिक तथा विकास सहकार्य विस्तारलगायत विषयमा छलफल भएको थियो।
सभामुख घिमिरेले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरी स्वदेश फर्किन लागेका राजदूत सोङलाई धन्यवाद दिँदै नेपाल–चीन सम्बन्ध मजबुत बनाउन, आर्थिक विकासमा सहकार्य विस्तार गर्न तथा दुवै देशका संसद्हरूबीचको सम्बन्ध सुदृढ बनाउन उनले पुर्याएको योगदानको उच्च प्रशंसा गरे ।
भेटका क्रममा नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सव वर्षभरि मनाइएको सन्दर्भ उल्लेख गर्दै सभामुख घिमिरेले सन् २०२५ मा दुवै पक्षबाट आयोजना गरिएका विविध कार्यक्रमले द्विपक्षीय सम्बन्धलाई थप उचाइमा पुर्याएको बताए।
नेपाल र चीन असल छिमेकी, घनिष्ठ मित्र र भरपर्दो साझेदार रहँदै आएका उल्लेख गर्दै सभामुख घिमिरेले शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त, आपसी सम्मान, सहयोग र समझदारीका आधारमा सम्बन्ध अघि बढिरहेको स्पष्ट पारे। उनले नेपाल एक–चीन सिद्धान्तप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको पुनः दोहोर्याउँदै नेपाली भूमिबाट चीनको हितविरुद्ध कुनै गतिविधि हुन नदिने प्रतिबद्धता व्यक्त गरे।
सभामुख घिमिरेले चीनको नेतृत्व तहबाट नेपाललाई भूपरिवेष्ठित मुलुकबाट भू–जडित मुलुकमा रूपान्तरण गर्ने दिशामा प्रदान हुँदै आएको सहयोगको प्रशंसा गरे। साथै, नेपाल–चीन संसद्बीच प्रतिनिधिमण्डलको नियमित भ्रमण र संवादले द्विपक्षीय सम्बन्धलाई अझ फराकिलो र सुदृढ बनाएको उल्लेख गरे।
चीन सरकारबाट प्राप्त हुँदै आएको विकास सहायताप्रति नेपाल आभारी रहेको उल्लेख गर्दै सभामुख घिमिरेले ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ (बिआरआइ) सम्झौताअन्तर्गतका तथा अन्य विकास सहायता परियोजना शीघ्र कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।
राजदूत सोङले चीनले नेपाललाई कूटनीतिक सम्बन्धमा उच्च प्राथमिकता दिएको बताउँदै आफ्नो कार्यकालमा सन् २०२० मा भएको चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमणका क्रममा भएका सम्झौताहरू कार्यान्वयनमा उल्लेखनीय सफलता हासिल भएको जानकारी दिए।
उनले नेपाल र चीनबीच जनस्तरको सम्बन्ध बलियो भए पनि आर्थिक सम्बन्ध अपेक्षाअनुसार विकास हुन नसकेको उल्लेख गरे। केही दिनअघि सम्पन्न नेपाल–चीन आर्थिक सहकार्य तथा लगानीसम्बन्धी कार्यशालाको स्मरण गर्दै धेरै चिनियाँ व्यवसायी नेपालमा लगानी गर्न इच्छुक रहेको जानकारी पनि राजदूत सोङले दिए।