काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो मौलिक परम्परा र संस्कृति बिर्सन नहुनेमा जोड दिएकी छन् ।
तमु ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद्को प्रतिनिधिमण्डलसँग आज भएको भेटमा प्रधानमन्त्रीले संस्कृतिमा रहेका हानिकारक प्रथा हटाउँदै जान सकिए पनि मौलिक परम्परा र परम्परागत वेशभूषा भने जोगाउनुपर्ने बताइन् ।
भेटमा परिषद्का प्रतिनिधिहरु गुरुङ संस्कृतिअनुसारको परम्परागत पोशाकमा उपस्थित थिए। उनीहरूको भेशभूषाको प्रशंसा गर्दै प्रधानमन्त्री कार्कीले सरकारी कार्यालयमा पनि हप्तामा एक दिन भए पनि कर्मचारीहरूले आफ्नै परम्परागत पोशाक लगाउन उचित हुने धारणा व्यक्त गरिन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार उनले भनिन्, “कतिपय समाज अहिले आफ्नो पहिचानको खोजीमा छन्। आधुनिकताका नाममा आफ्नोपन बिर्संदै गएको पाइन्छ। तर हामीसँग विविध मौलिक संस्कृति र परम्परा छन्। यसलाई जोगाउनुपर्छ। सरकारी कार्यालयमा हप्तामा एक–दुई दिन यस्तो पोशाक लगाउने व्यवस्था गर्ने विषयमा सोच्न सकिन्छ।”
त्यस अवसरमा परिषद्का महासचिव राजु गुरुङले प्रधानमन्त्री कार्कीलाई यही पुस १५ गते आयोजना हुने तमु ल्होसार विशेष कार्यक्रममा सहभागी हुन आमन्त्रण गरिन् ।