काठमाडौँ । दोस्रो विश्व ध्यान दिवसको अवसरमा आज टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा गठित मूल समारोह समितिको आयोजनामा सम्पन्न कार्यक्रममा योग प्रशिक्षकहरूले प्रवचनसहित अभ्याससमेत गराए ।

मूल समारोह समितिका संयोजक एवं शिक्षामन्त्री महावीर पुनले योग र ध्यानलाई विद्यालयमा अतिरिक्त क्रियाकलापको माध्यमबाट समावेश गर्न निर्देशन दिइएको जानकारी दिए। साथै, योग र ध्यानलाई पर्यटन प्रवद्र्धनसँग जोडेर प्राथमिकता दिन आग्रह गरे ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा शर्मा गौतमले परम्परागत चिकित्सा पद्धति जस्तै योग, आयुर्वेद र ध्यानलाई सरकारको कार्यक्रम र नीतिमा समावेश गरिएको बताउँदै यस क्षेत्रमा काम गर्ने सबै सङ्घसंस्थासँग सहकार्य गर्न आग्रह गरिन्।
ओशो तपोवनका आनन्द अरूणले नेपाललाई ध्यान केन्द्र बनाउन सकिने र आर्थिक रूपमा सम्पन्न मुलुकमा पनि मानसिक सन्तापको आवश्यकता रहने जानकारी दिए ।

कार्यक्रममा ‘आर्ट अफ लिभिङ नेपाल’ का प्रशिक्षक डा. कञ्चन घिमिरे र ब्रम्हकुमारी ध्यान केन्द्रका प्रशिक्षक रामसिंह ऐरले सहभागीहरूलाई ध्यान अभ्यास गराए ।

गत वर्ष डिसेम्बर ७ मा संयुक्त राष्ट्रसंघले हरेक वर्ष २१ डिसेम्बरलाई विश्व ध्यान दिवसको रूपमा मनाउने घोषणा गरेको हो। यस वर्ष ‘विश्व शान्ति र सद्भावनाका लागि ध्यान’ नारासहित दिवस मनाइँदैछ।