काठमाडौँ । अन्तरिम सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले योग र ध्यानलाई समाजमा व्यापक रूपमा फैलाउन सकिए भ्रष्टाचार न्यूनीकरण गर्न सकिने बताएका छन् ।
विश्व ध्यान दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै मन्त्री पुनले अहिलेको प्रमुख आवश्यकता मनलाई शुद्ध बनाउनु रहेको उल्लेख गरे। मन शुद्ध नभए लोभ, लालसा र घमण्ड बढ्ने र त्यसैबाट भ्रष्टाचार मौलाउने उहाँको भनाइ थियो। भ्रष्टाचार हटाउन औषधिले काम नगर्ने तर योग र ध्यानले मन शुद्ध बनाउन सहयोग गर्ने भएकाले त्यसको प्रभावकारिता महत्वपूर्ण रहेको उनले स्पष्ट पारे ।
मन्त्री पुनले योग र ध्यानलाई टोलटोल तथा गाउँगाउँसम्म विस्तार गर्न सबैले प्रयास गर्नुपर्नेमा जोड दिए। योग र ध्यान विद्यालयस्तरमै पुर्याउने उद्देश्यले अतिरिक्त क्रियाकलापको माध्यमबाट कार्यान्वयन गर्न निर्देशन दिइसकेको जानकारी पनि उनले दिए। योग र ध्यान पढाउनेभन्दा अभ्यास गराउने विषय भएको उल्लेख गर्दै विद्यालयमा शुक्रबारको दिनलाई औपचारिक पढाइभन्दा अतिरिक्त क्रियाकलापका लागि प्रयोग गर्ने अवधारणा अघि सारेको उनको दाबी छ।
उनले भने, “मन शुद्ध भएन भने लोभ, लालसा र घमण्ड बढ्छ, र त्यसले भ्रष्टाचार मौलाउने वातावरण बनाउँछ। हामी भ्रष्टाचारको औषधि खोजिरहेका छौँ तर औषधिले यो समस्या समाधान हुँदैन। योग र ध्यान नै मन शुद्ध गर्ने प्रभावकारी माध्यम हुन्। टोलटोल र गाउँगाउँमा योग र ध्यान फैलाउन सके भ्रष्टाचार हट्ने ठूलो सम्भावना देख्छु।”
मन्त्री पुनले ध्यान र योगले मनलाई शान्त र शुद्ध बनाउने भएकाले स्वस्थ समाज निर्माणमा यसको भूमिका महत्वपूर्ण हुने पनि उल्लेख गरे।