शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

श्रम संस्कृति पार्टीका उपाध्यक्ष लामा निलम्बित

बुधबार, पुष २ २०८२

धरान । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले पार्टीका केन्द्रीय उपाध्यक्ष देवराज लामा (कुमार/विश्वक्रान्ति) लाई निलम्बन गरेका छन्।

पुरानो बम विस्फोट घटनामा संलग्न भएको आरोपमा प्रहरीले लामालाई पक्राउ गरेपछि बुधबार अध्यक्ष साम्पाङले राज्यको अनुसन्धानमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उपाध्यक्ष लामालाई अनुसन्धान नटुंगिएसम्म पार्टी जिम्मेवारीबाट निलम्बन गरिएको घोषणा गरेका हुन्।

साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो पोष्ट गर्दै निर्दोष सावित नभएसम्म उपाध्यक्ष पदबाट निलम्बन गरिएको उल्लेख गरे। उनले भने, “गलतलाई गलत र सहीलाई सही भन्ने मान्छे हुँ। राज्यले गर्ने अनुसन्धानमा हाम्रो तर्फबाट कुनै दबाब वा प्रभाव पर्दैन। राज्यले निष्पक्ष छानबिन गर्नुपर्छ। यदि दोषी पाइएको खण्डमा कानुन अनुसार कारबाही हुनेछ, तर निर्दोष पाएमा दुःख दिन पाइँदैन।”

अध्यक्ष साम्पाङले आफ्नो पार्टी अरु दलहरू जस्तो विभिन्न घोटालामा जोडिए पनि पदमै बसिरहने संस्कृति नभएको पनि स्पष्ट पारे।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले मंगलबार काठमाडौं कपनबाट पक्राउ गरेको लामालाई विश्व संयुक्त जातीय मुक्ति मोर्चा नामक संगठनमा रहेका बेला देशका विभिन्न स्थानमा बम विस्फोट गराएको अभियोग लाग्ने बताइएको छ।