काठमाडौं । नेकपा एमालेको जारी एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि आज मतदान हुने चरणमा पुगेको छ। बिहान ८ बजेदेखि तय गरिएको मतदानका लागि प्रतिनिधिहरू भृकुटीमण्डपमा उपस्थित हुन थालेका छन् भने मतदानका लागि लाइन बस्ने क्रम सुरु भइसकेको छ।
यसपटक मतदानस्थल भने परिवर्तन गरिएको छ। भृकुटीमण्डपको मुख्य हल बुधबारका लागि अन्य प्रयोजनमा बुकिङ भइसकेकाले एमालेले बन्द सत्र सञ्चालन भएकै स्थानमा मतदान गर्ने निर्णय गरेको हो।
एमालेको महाधिवेशनका लागि कुल २ हजार २६२ जना प्रतिनिधि छनोट भएर आएका छन्। मतदानका लागि यसअघि प्रयोग हुँदै आएको रामलक्ष्मण इनोभेसन प्रालिले निर्माण गरेको विद्युतीय भोटिङ मेसिन नै प्रयोग गरिनेछ। यसपटक कुल ८० वटा विद्युतीय मेसिन प्रयोग हुने जनाइएको छ।
प्राविधिकका अनुसार एक जना मतदाताले मतदान गर्न करिब ३५ देखि ४० मिनेट समय लाग्नेछ। मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु हुनेछ भने विद्युतीय प्रणाली भएकाले मतदान सकिएको कम्तीमा दुई घन्टाभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ।