काठमाडौँ, १ पुस । काठमाडौँ र ललितपुरका विभिन्न स्थानबाट सोमबार लाखौँ रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार चोरीमा सुनका गरगहना र नगदसहित करिब ५७ लाख रुपैयाँ मूल्यको सामग्री हराएको छ ।
तारकेश्वर नगरपालिका–११ नेपालटारमा सुनिता बजगाईंको कोठाबाट २ लाख ९१ हजार रुपैयाँ, तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीमा जयराम अधिकारीको घरबाट ३ लाख ७७ हजार रुपैयाँ, र काठमाडौँ महानगरपालिका–१५ मा धर्मरत्न शाहीको कोठाबाट सुन तथा चाँदीका गरगहना र एक थान ल्याप्टप गरी करिब ७ लाख ४० हजार रुपैयाँ चोरी भएको छ ।
ललितपुरको महालक्ष्मी नगरपालिका–१ भैरव टोलमा जानेन्द्रलाल कर्णको कोठाबाट ४ लाख ४ हजार रुपैयाँ, र कृष्ण मन्दिर चोक नजिकै बाबुराम पाण्डेको कोठाबाट ३९ लाख ४७ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ ।
प्रहरीले चोरीमा संलग्न व्यक्तिहरूको खोजी गरिरहेको छ र आवश्यक अनुसन्धान जारी रहेको छ ।