काठमाडौँ । प्रहरीले लागुऔषध ओसारपसार तथा बिक्रीवितरण गरेको अभियोगमा एक भारतीय नागरिकसहित तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार पक्राउ पर्नेमा भारतको विहार राज्य मोतिहारी जिल्ला रक्सौल थाना–४ घर भई हाल कागेश्वरी मनोहरा नगरपालिका–७ बस्ने १९ वर्षीय मुन्ना यादव, मोरङ कानेपोखरी गाउँपालिका–५ घर भई हाल काठमाडौँ–१४ कुलेश्वर बस्ने २३ वर्षीय डोरराज परियार र तनहुँ मिर्लुङ गाउँपालिका–३ घर भई हाल काठमाडौँ–१४ कुलेश्वर बस्ने ३४ वर्षीय कृष्ण भण्डारी रहेका छन् ।
प्रहरी उपरीक्षक आचार्यका अनुसार काठमाडौँको कुलेश्वर क्षेत्रमा लागुऔषध बिक्रीवितरण भइरहेको विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो । प्रारम्भिक अनुसन्धानका क्रममा भारतको रक्सौल हुँदै काठमाडौँसम्म लागुऔषध ओसारपसार तथा बिक्रीवितरण भइरहेको खुल्न आएको र सो कार्यको योजनाकार भारतीय नागरिक मुन्ना यादव रहेको पाइएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाको साथबाट डायजेपाम इन्जेक्सन २ हजार ३९५ थान, प्रोमेथाजिन हाइड्रोकोराइड इन्जेक्सन २ हजार ३०० थान, बुप्रेनोर्फिन इन्जेक्सन २ हजार १५६ थान, ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल (५० मिलिग्राम) २ हजार ७०० थान तथा मोबाइल फोन १० थान बरामद गरिएको छ ।
पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि सोमबार जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको प्रहरीले जनाएको छ ।