काठमाडौँ । नेकपा (एमाले)ले पार्टी संरचना १०औँ महाधिवेशनकै मोडेलअनुसार निर्माण गर्ने निर्णय गरेको छ।
काठमाडौंको भृकुटीमण्डपमा जारी ११औँ महाधिवेशनको बन्दसत्रले सो प्रस्ताव पारित गरेको हो। पार्टीकी सचिव पद्मा अर्यालका अनुसार अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बन्दसत्रबाट १९ सदस्यीय पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन गरिनेछ।
अर्यालका अनुसार पार्टी पदाधिकारीमा एक जना अध्यक्ष, तीन जना उपाध्यक्ष, एक जना महासचिव, तीन जना उपमहासचिव र नौ जना सचिव रहने व्यवस्था गरिएको छ। साथै, केन्द्रीय कमिटीका एक तिहाइ सदस्य समेटेर पोलिटब्युरो गठन गरिने र पोलिटब्युरोका एक तिहाइ सदस्यबाट स्थायी कमिटी निर्माण गरिनेछ।
सञ्चारकर्मीसँग कुरा गर्दै अर्यालले भनिन्, “पार्टीको केन्द्रीय कमिटी ३०१ सदस्यीय हुनेछ, जसमा १९ जना पदाधिकारी रहनेछन्। केन्द्रीय कमिटीको एक तिहाइ सदस्यबाट पोलिटब्युरो र पोलिटब्युरोको एक तिहाइ सदस्यबाट स्थायी कमिटी निर्माण गरिने अवधारणासहितको विधान संशोधन प्रस्ताव महाधिवेशनको बन्दसत्रबाट पारित भइसकेको छ। साथै, ३०१ सदस्यीय केन्द्रीय कमिटी कसरी निर्वाचित गर्ने भन्ने विषय पनि टुंगो लागिसकेको छ।”
उहाँका अनुसार पार्टीले सात प्रदेश, उपत्यका विशेष कमिटी र राजधानी विशेष कमिटीलाई आधार मानेर नौ जना सचिवको अवधारणा अघि सारेको हो।
महाधिवेशनमा पार्टीले झन्डै पाँच प्रतिशत कोटा छुट्याएको छ। युवालाई छुट्याइएको क्लस्टरअनुसार भूगोल र गैरभूगोल गरी प्रत्येक प्रदेशबाट एक–एक जना रहने व्यवस्था गरिएको छ। त्यसैगरी खुलातर्फ दुई जना, आदिवासी जनजातितर्फ दुई जना, मधेसीतर्फ दुई जना र दलिततर्फ एक जना गरी कुल १५ जनाको कोटा निर्धारण गरिएको छ।