काठमाडौँ । नेकपा एमालेमा नेतृत्व चयनका लागि तीव्र रस्साकस्सी चलिरहेका बेला पार्टीका तीन शीर्ष नेताले सक्रिय राजनीतिबाट अलग हुने घोषणा गरे। यद्यपि उहाँहरूले पार्टीको सदस्यता भने कायम राख्ने स्पष्ट गरेका छन् ।
सक्रिय राजनीतिबाट अलग हुने घोषणा गर्ने नेताहरूमा उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य तथा पार्टी अनुशासन आयोगका अध्यक्ष केशव बडाल रहेका छन्। उनीहरूले अब पार्टीका कुनै पनि पदमा उम्मेदवार नबन्ने निर्णय सार्वजनिक गरे ।
नेकपा एमालेको ११औँ महाधिवेशनमा सात दशक पार गरेका नेताहरूबीच नेतृत्वका लागि प्रतिस्पर्धा हुन लागेका बेला यी तीन नेताले स्वेच्छिक अवकाशको बाटो रोज्दै पार्टीभित्र उदाहरण प्रस्तुत गरेका छन् ।
जारी महाधिवेशनअन्तर्गत बन्दसत्रमा सम्बोधन गर्दै ज्ञवाली, शाक्य र बडालले सक्रिय राजनीति र औपचारिक नेतृत्वबाट बिदा लिएर आफ्नो अनुभव र ज्ञानका आधारमा पार्टीलाई योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।