शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

अबकाे सरकारको नेतृत्व आफूले गर्ने हर्क साम्पाङकाे जिकिर

आइतबार, मंसिर २८ २०८२

खोटाङ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले आगामी प्रतिनिधिसभा निर्वाचनपछि नेपालमा किसान, गोठाला र खेतालाको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् ।

गृह जिल्ला खोटाङको दिक्तेल बजारमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष साम्पाङले पार्टीप्रति जनताको पूर्ण समर्थन रहेकाले सरकारको नेतृत्व आफूले गर्ने जिकिर गरे। उनले स्पष्ट दृष्टिकोण भएका नेताहरूबाट मात्र देश विकास सम्भव भएको बताए। “नेताहरूले पटक–पटक एउटै समस्याको समाधान गर्छु भनेर भोट माग्छन्, तर समस्या समाधान हुँदैन। एउटै योजनामा पटकपटक बजेट हाल्दा पनि योजना सफल हुँदैन,” उनले भने ।

अध्यक्ष साम्पाङले अब कुरा भन्दा श्रम गर्नेलाई अवसर दिनुपर्ने र त्यसका लागि एकताबद्ध हुनुपर्ने आवश्यकता औँल्याए ।

कार्यक्रममा तत्कालीन जिल्ला विकास समिति खोटाङका पूर्वउपसभापति सीताराम राई, पहिचानवादी नेता मोहन गुरुङलगायत विभिन्न पार्टी परित्याग गरी श्रम संस्कृति पार्टीमा प्रवेश गरेका नेता पनि उपस्थित थिए।

सो अवसरमा पार्टीको खोटाङमा ५३ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको जानकारी दिइयो। समितिको अध्यक्षमा प्रताप राई चयन भएका छन्। उपाध्यक्षमा उमा चाम्लिङ, सङ्गीता किराती र राजेन्द्र राई, सचिवमा धनीराम नछुङ, सहसचिवमा भविराज राई र मिलन खड्का, कोषाध्यक्षमा कौशिला राई, सहकोषाध्यक्षमा सुवास राई र प्रवक्तामा राजन राई रहेका छन्।