काठमाडाैं । नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आइतबारदेखि बन्दसत्र सुरु हुँदैछ । बिहान साढे ७ बजेदेखि बन्दसत्र सुरु हुने पार्टीले जनाएको छ ।
अध्यक्षमण्डल गठनसँगै बन्दसत्र सञ्चालन हुनेछ । अध्यक्षमण्डल बनेपछि मौजुदा केन्द्रीय कमिटी स्वतः भंग भई नयाँ नेतृत्व चयनको निर्वाचन प्रक्रिया सुरु हुनेछ । आगामी केन्द्रीय कमिटी १५ पदाधिकारीसहित २५१ सदस्यीय हुने छ ।
शनिबार उद्घाटन समारोह सम्पन्न भएलगत्तै दुवै पक्ष नेतृत्व चयनका लागि टिम निर्माणमा जुटेका छन् । एमालेको आगामी नेतृत्वका लागि हालका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने देखिएको छ । दुवै पक्षले पदाधिकारीमा प्यानल नै बनाएर चुनावी प्रतिस्पर्धा गर्ने तयारी गरेका छन् ।
ओली पक्षबाट पदाधिकारीमा अधिकांश पुरानै अनुहार दोहोरिने सम्भावना देखिएको छ । स्रोतका अनुसार उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा ‘बादल’ र गुरू बराल दोहोरिन सक्ने सम्भावना बढेको छ । महासचिवमा शंकर पोखरेल नै पुनः दोहोरिने चर्चा छ । यद्यपि उपमहासचिव प्रदीप ज्ञवालीले पनि महासचिवमा दाबी छाडेका छैनन् । पृथ्वीसुब्बा गुरुङले पनि कुनै हालतमा महासचिव नछाड्ने संकेत दिएका छन् ।
तीन उपमहासचिवमा पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली र विष्णु रिमाललाई नै दोहोर्याउने सम्भावना बलियो देखिएको छ । सचिवमा पद्मा अर्याल, रघुवीर महासेठ र लेखराज भट्ट दोहोरिन सक्ने सम्भावना छ ।
बाँकी तीन सचिव पदका लागि भानुभक्त ढकाल, शेरधन राई, ज्वाला साह, सुमन प्याकुरेल, महेश बस्नेत, राजन भट्टराई, खगराज अधिकारी, जगत विश्वकर्मा, यमलाल कँडेल र गोरख बोगटीको बलियो दाबी रहेको छ । अन्तिममा ढकाल, बस्नेत तथा कँडेल र बोगटीमध्ये एक जना चयन हुने सम्भावना बढ्दै गएको ओलीनिकट नेताहरूले बताएका छन् ।
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूह पनि आफ्ना उम्मेदवार टुंगो लगाउन आन्तरिक छलफलमा जुटेको छ । ओली समूहमा आकांक्षी धेरै र पदाधिकारी संख्या सीमित भएकाले असन्तुष्ट नेताहरू तान्ने प्रयास भइरहेको छ । निकट स्रोतका अनुसार आजभोलिमै ओली पक्षका केही नेता पोखरेल समूहमा खुल्ने सम्भावना पनि देखिएको छ ।
पोखरेल समूहमा हालसम्म योगेश भट्टराई उपमहासचिवमा उठ्ने लगभग टुंगो लागेको छ । उपाध्यक्ष सुरेन्द्र पाण्डे र गोकर्ण विष्टमध्ये एक जना महासचिवमा उठ्ने र अर्का उपाध्यक्षमा व्यवस्थापन हुने सम्भावना छ ।
पोखरेल समूहबाट सचिव पदका लागि गोकुल बाँस्कोटा, ठाकुर गैरे, कर्ण थापा, विनोद ढकाल र विन्दा पाण्डेलगायत नेताहरू आकांक्षी देखिएका छन् ।