काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीको विधान महाधिवेशन र राष्ट्रिय महाधिवेशन अलग-अलग आयोजना गर्ने निर्णयको औचित्य स्पष्ट पारेका छन्। ज्ञवालीले भनेका छन्, “नीति र नेतृत्वको निर्णय एउटै मञ्चबाट गर्दा नीतिगत बहस ओझेलमा पर्छ र नेतृत्वको पक्षधरताले प्रभाव पार्छ। विगतका अनुभवका आधारमा हामीले यी दुई महाधिवेशन अलग आयोजना गर्ने व्यवस्था गरेका छौँ।”
उनी थप्छन्, “विधान महाधिवेशनका बेला नेतृत्वको र नेतृत्व चयन गर्ने महाधिवेशनका बेला नीतिको बहस गर्नु सान्दर्भिक हुँदैन। दुई महाधिवेशनको बिचमा राष्ट्रिय राजनीतिमा फेरबदल आए वा पार्टीको नीतिमा परिवर्तन आवश्यक भए केन्द्रीय कमिटीले आवश्यक निर्णय गर्ने अधिकार राख्दछ।”
ज्ञवालीले सातौँ महाधिवेशनले पारित गरेको ‘राजतन्त्रको पारदर्शिता र प्रजातान्त्रीकरण’ सम्बन्धी निष्कर्ष माघ १९ को घटनाले असान्दर्भिक र गलत साबित भएको बताए। उनले भने, “तर हामीले महाधिवेशनबाट होइन, केन्द्रीय कमिटीको बैठकबाट लोकतान्त्रिक गणतन्त्रको ऐतिहासिक निर्णय गरेका छौँ, जुन सही र सान्दर्भिक थियो।”
पार्टीको समग्र काम, उपलब्धि र कमीको वस्तुनिष्ठ समीक्षा आवश्यक भए तापनि ज्ञवालीले चेतावनी दिएका छन् कि “आवेग, मनोवैज्ञानिक दूरी र पक्षधरतामा बाँडिएको बेला समीक्षा वस्तुनिष्ठ हुन सक्दैन र आरोप-प्रत्यारोप तथा ‘ब्लेम गेम’ मा रूपान्तरित हुन्छ।”
साथै, उनले आसन्न महाधिवेशनलाई नेतृत्व चयनमा केन्द्रित राख्न र सहमतिका आधारमा अघि बढाउन सबैलाई आग्रह गरेका छन्। ज्ञवालीले भने, “स्वस्थ, मर्यादित र लोकतान्त्रिक अभ्यासमार्फत पार्टी एकतालाई सुदृढ गरौँ। कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेलाडीहरूले जस्तो ‘स्पोर्टम्यानसिप’ हामी सबैले पनि अबलम्बन गरौँ।”