शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

एमाले महाधिवेशनको उद्घाटनका लागि घरदैलो अभियान थालनी

बिहिबार, मंसिर २५ २०८२

काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा व्यापक जनसहभागिता सुनिश्चित गर्न घरदैलो निमन्त्रणा अभियान सुरु गरेको छ। उपमहासचिव एवं जनपरिचालन समितिका संयोजक प्रदीपकुमार ज्ञवालीले बुधबार काठमाडौँको कागेश्वरी–मनोहरा नगरपालिका–१९, वीरेन्द्र चोक र काँडाघारी क्षेत्रबाट अभियानको औपचारिक शुभारम्भ गरे।

ज्ञवाली नेतृत्वको टोलीले पार्टी अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट जारी अपिल घरघर पुगेर वितरण गर्दै महाधिवेशनको महत्व, राष्ट्रिय राजनीतिक स्थिति र पार्टीको दृष्टिकोणबारे स्थानीयलाई जानकारी गराएको थियो। टोलीमा पोलिटब्यूरो सदस्य एवं पूर्व सञ्चारमन्त्री पार्वत गुरुङ, बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाशप्रसाद ढुङ्गेललगायत नेताहरू सहभागी थिए।

यसैगरी भक्तपुरको सूर्यविनायक र चाँगुनारायण क्षेत्रमा पोलिटब्यूरो सदस्य महेश बस्नेत, जिल्ला अध्यक्ष बजन देउजा, बागमती प्रदेशका स्वास्थ्यमन्त्री एवं जिल्ला उपाध्यक्ष किरण थापाको नेतृत्वमा घरदैलो निमन्त्रणा अभियान सुरु भएको छ। ललितपुरको महालक्ष्मी नगरपालिकामा पनि आजै अभियान सञ्चालन भएको छ।

अध्यक्ष ओलीको अपिलमा राष्ट्रियता, लोकतन्त्र र संविधानमाथि आएको चुनौतीका बीच जनशक्तिको ऐक्यबद्धता आवश्यक रहेको उल्लेख छ। आफूले एमालेलाई राष्ट्रियता र स्वाभिमानको पहरेदार, लोकतन्त्रको सारथि, सामाजिक न्याय र सुरक्षाको सूत्रधार तथा समृद्ध नेपाल–सुखी नेपालीको लक्ष्यप्रति समर्पित पार्टीका रूपमा चिनाएर वर्तमान राजनीतिक परिस्थिति गम्भीर मोडको अवस्थामा रहेको बताउनुभएको छ।

एमालेले मङ्सिर २७ गते दिउँसो १२:३० बजे भक्तपुरको सल्लाघारीमा ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्र आयोजना गर्दैछ। उद्घाटनका लागि मुख्य रूपमा बागमती, गण्डकी र मधेस प्रदेशका जनसमुदायलाई विशेष निम्तो दिइएको छ। करिब तीन लाख जनसहभागिता जुटाउने लक्ष्यसहित महाधिवेशनको बन्दसत्र भोलिदेखि काठमाडौँको भृकुटीमण्डपमा सञ्चालन हुनेछ।