शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

लोकतन्त्रको आत्मा स्वच्छ र निष्पक्ष निर्वाचन : प्रधानमन्त्री कार्की

जेन–जीको डिजिटल सक्रियताप्रति प्रशंसा

बुधबार, मंसिर २४ २०८२

काठमाडौँ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले लोकतन्त्रको मूल आत्मा स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन रहेको बताउँदै नागरिकले भय, प्रलोभन वा दबाबबिना आफ्ना प्रतिनिधि छान्न पाउनुपर्नेमा जोड दिएकी छन्।

७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले मानव अधिकार र लोकतन्त्रलाई मजबुत बनाउन पारदर्शिता, जवाफदेहिता र भ्रष्टाचारविरुद्धको कठोर अभियान अपरिहार्य भएको धारणा राखिन्।

प्रधानमन्त्री कार्कीका अनुसार फागुन २१ गतेका लागि तोकिएको निर्वाचनलाई मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउने तयारीमा सरकार जुटिरहेको छ। निर्वाचनमा खटिने सुरक्षा निकायका कर्मचारीका लागि उच्च मनोबलमा काम गर्ने अनुकूल वातावरण बनाइने र सबै राजनीतिक दललाई स्वतन्त्र रूपमा सहभागिताका लागि आह्वान समेत गरिन् ।

उनले भ्रष्टाचारलाई नेपालको मानव अधिकारको सबैभन्दा ठूलो चुनौतीको रूपमा व्याख्या गर्दै यसले विशेषगरी विपन्न र अवसरविहीन वर्गको मौलिक अधिकार हनन गर्ने बताइन्।

“भ्रष्टाचार आर्थिक अनियमितता मात्र होइन, यसले बिरामीलाई उपचार, विद्यार्थीलाई गुणस्तरीय शिक्षा र नागरिकलाई समान अवसरबाट वञ्चित गर्छ,” भन्दै प्रधानमन्त्रीले सरकारले जुनसुकै हदसम्म कठोर कदम चाल्न तयार रहेको स्पष्ट पारिन् ।

पारदर्शिता र जवाफदेहिताबिना मानव अधिकार सुरक्षित रहन नसक्ने उल्लेख गर्दै सरकार यिनै मूल्यका आधारमा अघि बढेको उनको भनाइ थियो।

जेन–जीको डिजिटल सक्रियताप्रति प्रशंसा

प्रधानमन्त्री कार्कीले नयाँ पुस्ता (जेन–जी) ले मानव अधिकारलाई कानुनी ग्रन्थमा सीमित नराखी व्यवहारिक परिणामसँग जोडेर हेर्ने सकारात्मक प्रवृत्तिको प्रशंसा गरिन्।

सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्ममार्फत उनीहरूले गरिरहेको खबरदारी लोकतन्त्रको सुन्दर अभिव्यक्ति भएको उल्लेख गर्दै डिजिटल अधिकार, गोपनीयता, नवप्रवर्तन र सिर्जनात्मक क्षमतालाई सरकारी नीतिमा समाहित गर्ने प्रतिबद्धता व्यक्त गरिन्।