काठमाडौँ । नेपाल प्रहरीले आफ्नै ४ महिनाको छोराको हत्या गरेको आरोपमा प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीलाई पक्राउ गरेको छ।
हिजो दिउँसो सिनामंगलस्थित भाडाको कोठामा बसेका कार्कीले सुतेकै स्थानमा छोराको घाँटी रेटेर हत्या गरेका थिए। जन्मेदेखि नै ब्रेन ट्युमरबाट पीडित रहेको बालकको हत्या पश्चात् कार्कीले श्रीमतीलाई समेत कुटपिट गरेका थिए र घटनापछि फरार भएका थिए। श्रीमती पनि नेपाल प्रहरीमै कार्यरत छन्।
जिल्ला प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार कार्कीलाई आइतबार बेलुकी नै नियन्त्रणमा लिइएको छ। उनी हाल जिल्ला प्रहरी परिसर भद्रकालीको नियन्त्रण कक्षमा राखिएका छन्।
घटनाबारे थप सोधपुछ र अनुसन्धान प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।