मोरङ । मोरङको लेटाङ नगरपालिका–स्थित १३ वर्षीया अंशु गौतमको हत्या प्रकरणमा संलग्नको आरोपमा प्रहरीले छिमेकीलाई नै पक्राउ गरेको छ । उनी अंशुकै छिमेकी रहेको मोरङ प्रहरीले पुष्टि गरेको हो।
असोज २१ गते घरबाट हराएकी अंशुको शव १८ दिनपछि लेटाङ–बेलबारी सिमानामा पर्ने बेलबारी–चिसाङ साझेदारी सामुदायिक वनभित्र सडेको अवस्थामा फेला परेको थियो। स्थानीय सर्वसाधारणले घाँस काट्न जाँदा टाउको र शरीर छुट्टिएको अवस्था देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रारम्भिक अनुसन्धानमै अंशु बलात्कृत भएकी थिइन् र त्यसपछि धारिलो हतियार प्रयोग गरी हत्या गरिएको तथ्य खुलेको थियो।
शवको पोष्टमार्टम बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा गरिएको थियो, जसले बलात्कार र हत्या भएको पुष्टि गरेको थियो।
हत्या पछि पक्राउ परेका छिमेकी पनि घरबाट बेपत्ता भएका थिए। अनुसन्धानका क्रममा उनी भारतको आसाम, तीनसुकियास्थित कोइलाखाँदमा लुकेर बसेको पत्तो लागेको प्रहरीले बताएको छ।
प्रारम्भिक बयानमा अभियुक्तले अंशुले रोइरहेको र बलात्कारको घटना सार्वजनिक गरिदिने चेतावनी दिएपछि घरबाट हँसिया र खुकुरी झिकेर हत्या गरेको स्वीकार गरेका छन्। शव जंगलमा फालिएको र हत्यामा प्रयोग भएका हतियारको बिँड घटनास्थल नजिकै जलाएको उनले बताएका छन्। हँसिया र खुकुरी प्रहरीले घरको मचानबाट बरामद गरिसकेको छ।
अंशुका बुबा नवीन गौतमले मोरङ प्रहरीमा किटानी जाहेरी दर्ता गराएका छन्। आरोपीलाई आज प्रहरीले सार्वजनिक गर्ने र अंशुको धार्मिक विधिअनुसार अन्त्येष्टि पनि आज नै गरिने परिवारले जनाएको छ।