बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

नेपाल–चीन महिला सहकार्य सुदृढ गर्ने ऐतिहासिक सम्मेलन सम्पन्न

बुधबार, मंसिर १७ २०८२

काठमाडौँ । चीनको सिजाङ (तिब्बत) प्रान्तको परराष्ट्र मामिला कार्यालयको निमन्त्रणामा ल्हासामा आयोजित नेपाल–चीन महिला सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ। मङ्सिर ८ देखि १२ गतेसम्म चलेको सम्मेलनमा महिला अधिकार, कानुनी विकास, तिब्बती उपचार पद्धति, उद्यमशीलता, पर्यटन, जडीबुटी तथा हस्तकला क्षेत्रका अवसर र चुनौतीबारे दुवै देशका महिला प्रतिनिधिहरूबीच गहन छलफल भएको छ।

आदिवासी जनजाति आयोगकी सदस्य रीना रानाको नेतृत्वमा गएको नेपाली प्रतिनिधिमण्डल समावेशी थियो। उनले नेपाल–चीन कूटनीतिक सम्बन्धको ७० वर्षको यात्रामा यो पहिलो औपचारिक महिला सम्मेलन भएको उल्लेख गर्दै दुवै देशका महिलाबीच सहकार्यका नयाँ दिशाहरू पहिचान भएको बताइन्।

सम्मेलनमा नेपालतर्फबाट महिला उद्यमी महासङ्घ नेपालकी अध्यक्ष शोभा ज्ञवाली, उपाध्यक्ष सुनिता वैद्य श्रेष्ठ, पत्रकार कालिका खड्का, युवा उद्यमी मञ्चकी उपाध्यक्ष निदा डोन मल्ल, डा. विष्णु बस्याल, तथा नेपाली युवातर्फ कुन्दन शर्मा, श्रीया गिरी र ओजस्वी भट्टराई सहभागी थिए।

सम्मेलनले महिला अधिकार, सरकारी सेवा पहुँच, स्वास्थ्य, शिक्षा, रोजगारी तथा उद्यमशीलतामा अनुभव आदान–प्रदान गर्दै सहकार्यका नयाँ ढोका खोल्ने निष्कर्ष निकालेको छ। तिब्बती उपचार विधिको अवलोकनका क्रममा नेपाली टोलीले स्वास्थ्य परीक्षणसमेत गराएको थियो। आयोगकी सदस्य रानाले तिब्बती चिकित्सा नेपाली आदिवासी उपचारसँग मिल्दोजुल्दो र प्रभावकारी भएको बताउँदै नेपालमै प्रशिक्षण कार्यक्रम विस्तार गर्ने सम्भावना सकारात्मक रहेको जनाइन्।

सिजाङ प्रान्तका उपमहानिर्देशक ओयाङ झिबिङले नेपाल–चीन मित्रताको ७० वर्षमा महिलामार्फत सुरु भएको यो पहिलो औपचारिक सहकार्यप्रति प्रसन्नता व्यक्त गरे। उनका अनुसार यो सम्मेलनले स्वास्थ्य, शिक्षा, पर्यटन, जडीबुटी, हस्तकला, मानवअधिकार र कानुनी विकास जस्ता क्षेत्रमा दीर्घकालीन साझेदारीको मार्ग खुलेको छ।

महिला उद्यमी महासङ्घकी अध्यक्ष शोभा ज्ञवालीले उद्यमशीलता क्षेत्रमा अवसर, चुनौती र भविष्यका सम्भावनाबारे भएको विस्तृत छलफल फलदायी रहेको बताइन्। नेपाली उद्यमीलाई निःशुल्क सीप विकास तालिम र उद्यम अभिवृद्धि कार्यक्रम उपलब्ध गराउने सम्बन्धमा चिनियाँ पक्ष सकारात्मक भएको उनले जानकारी दिइन्।

टोलिले तिब्बती उपचारमा प्रयोग हुने प्राकृतिक जडीबुटी, आदिवासी ज्ञान र उद्यान प्रणालीको विस्तृत अध्ययन गरेको थियो। प्रतिनिधिहरूका अनुसार यो विधि नेपालका मुस्ताङ, मनाङ, हुम्ला, डोल्पा जस्ता उत्तरी भूभागका लागि अत्यन्त उपयोगी हुन सक्छ।

युवा उद्यमी, पत्रकार, कानुन व्यवसायी तथा प्रविधि क्षेत्रमा सक्रिय युवाको सहभागिताले सम्मेलनले नयाँ पुस्ताको दृष्टिकोण र ऊर्जा पाएको छ। चिनियाँ पक्षले नेपालका युवालाई सीप विकास, शिक्षा र प्रविधिमा सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।

नेपाली हस्तकला चीनमा लोकप्रिय हुँदै गएको देखिनुले भविष्यमा सांस्कृतिक तथा आर्थिक सहकार्य अझै व्यापक हुने संकेत गरेको छ। सहभागीहरूको मूल्यांकन अनुसार नेपाल–चीन महिला सहकार्यको यो यात्रा निरन्तर रह्यो भने दुवै देशका महिला नेतृत्व, स्वास्थ्य, उद्यमशीलता, पर्यटन, कृषि तथा जडीबुटी उद्योग सबै क्षेत्रमा नयाँ सम्भावनाको ढोका खोलिनेछ।