मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

यसकारण भएन कुलमान–रवि मिलन

मंगलबार, मंसिर १६ २०८२

काठमाडौं । उज्यालो पार्टी नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टीको मिलनको चर्चा अब सकिएको छ। उज्यालो नेपालका संरक्षक कुलमान घिसिङ र रास्वपा सभापति रवि लामिछानेबीच कुराकानी नमिलेका कारण यो चर्चा सेलाएको हो।

यसले अब वैकल्पिक भनिएका दल पनि फरक कित्तामा चुनावी मैदानमा होमिने भएका हुन्।

बालेन शाहका निकटहरूले कारागारमै पुगेर रविलाई मुद्दाको किनारा नलागेसम्म सभापति छोडेर कुलमानलाई दिन आग्रह गरेका थिए। तर, रविले सो प्रस्ताव अस्वीकार गरे।

घिसिङले पनि कार्यकारी सभापतिको बटमलाइनबाट यताउता नहुने प्रस्ट जवाफ पठाए। यसकारण घिसिङले अनुपकुमार उपाध्यायको अध्यक्षतामा उज्यालो नेपाल पार्टी गठन गरे।

अहिले उनको दल संगठन विस्तारमा सक्रिय छ। खगेन्द्र सुनारको हाम्रो पार्टी नेपालले उज्यालो नेपालकै चुनाव चिह्नमा लड्ने सहमति गरिसकेको छ। यो बाहेक अन्य केही दललाई मिलाउने प्रयासमा नेताहरू लागेका छन्।

रास्वपाको सभापति बन्न नपाए मिल्न नसकिने निचोडमा पुगेका घिसिङसँग रास्वपाले फेरि संवाद अघि बढायो। उपसभापति स्वर्णिम वाग्लेको नेतृत्वमा वार्ता गर्न केही नेतालाई जिम्मेवारी दियो।

पुनः छलफल हुँदा घिसिङ पक्ष लचक भयो। कुलमानले दुई सभापति बनाउने प्रस्ताव राखे। तर, त्यसमा पनि रवि तयार भएनन्।

कुलमानलाई कार्यवाहक सभापति बनाए पनि एकता गर्न सकिने उनेपा नेताहरूले दिएको विकल्पमा समेत रविले सहमति जनाएनन्।

रास्वपा र उनेपा एकता गरे पनि पार्टीको नाम र चुनाव चिह्न फेर्न रविले अस्वीकार गरेका छन्।

कुलमानको तर्फबाट रास्वपामा उज्यालो नेपाल जोड्ने प्रस्ताव प्रस्तुत भएपछि कारागारमा भेट्न पुगेका नेतामार्फत् रविले त्यसलाई स्वीकार नगर्ने बताएका हुन्।

रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्याल, उपसभापति स्वर्णिम वाग्ले र कुलमानले पटकपटक छलफल गरेर मिलनविन्दुको खोजी गरेका थिए। यस्तै, उज्यालो नेपालबाट तारा जोशी, गणेश घिसिङ, प्रवक्ता राजु थापा सहभागी भए।

रास्वपाका शिशिर खनाल, पुकार बम लगायत नेतापनि संवादमा खटिए।

उनेपाले रास्वपासँग एकता गर्दा चालीस प्रतिशत आफूहरूले पाउनुपर्ने प्रस्ताव राख्यो।

यसमा पनि रास्वपा तयार भएन। उसले ३५ प्रतिशत मात्र दिन सकिने अडान राख्यो।

थरीथरीका माग प्रस्तुत गर्ने र नेतामार्फत् कारागारमा सन्देश ल्याउँदै लैजाँदै गर्नुभन्दा सिधै कुलमानसँगै कारागारमै निर्णायक वार्ता गर्नुपर्ने प्रस्ताव रविले पठाए।

कुलमान अहिले मन्त्री छन् र उनी प्रधानमन्त्री सुशीला कार्कीलाई पनि प्रभाव पार्न सक्ने मन्त्री हुन् भन्ने रविलाई थाहा नहुने कुरा भएन। तसर्थ शक्तिशाली मन्त्री कुलमान नख्खु जेलमै रविलाई भेट्न जानुको ठूलो अर्थ हुन्छ, जसबाट आफुलाई छुटाउन सरकार सकारात्मक छ भन्ने सन्देश जाओस् भन्ने रवि चाहन्छन्। साथै उनी कुलमानसँग प्रत्यक्ष भेटेर आफ्नो मुद्दा राफसाफ गर्न उनी मार्फत् प्रधानमन्त्री समक्ष सन्देश पठाउन पाइयोस् भन्ने पनि चाहन्छन्।

तर कुलमान आफुलाई भेट्न कारगार नआउँदा उनी आफ्नो मुद्दा प्रतिशोधपूर्ण हो र आफु जेलमुक्त हुनुपर्छ भन्ने नै कुलमान चाहँदैनन् भन्ने रविको बुझाई बनेको देखिन्छ। कुलमानसँग विश्वासको वातावरण नै नबनेको यो अवस्थाा एउटै पार्टी बनाउन कसरी सम्भव हुन्छ भन्ने रविको प्रश्न रहेको देखिन्छ।

सरकारमा भएर पनि आफूलाई रिहाइ गर्न कुलमानले कुनै पहल नगरेकोमा रविको चित्त दुखाइ छ। जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारमा घिसिङले शक्तिशाली तीन वटा मन्त्रालयको जिम्मेवारी लिएका छन्।

सरकारमा महत्त्वपूर्ण जिम्मेवारीमा रहेका व्यक्तिले आफूलाई थुनामुक्त गर्ने विषयमा कुनै पहल नगरेको भन्दै कुलमानप्रति रविको गुनासो छ।

जेनजीभन्दा पहिले आफू एमाले अध्यक्ष केपी शर्मा ओलीसँग लडेको रविले बताउँदै आएका थिए।

जेनजीकै माग अनुसार बनेको सरकारले थुनामुक्त नगरेको भन्दै रवि असन्तुष्ट बनेका हुन्। तर सरकारले चाहँदैमा विभिन्न अदालतमा रहेका मुद्दाबाट उनले उन्मुक्ति पाउने अवस्था पनि छैन।

कुलमानलाई सभापति नदिने हो भने भावी प्रधानमन्त्री घोषणा गरेर चुनावमा जानुपर्ने प्रस्तावमा भने रविले सहमति जनाएका छन्।

रविको विश्वासपात्र एक नेताले कुलमानसँगको भेटमै सो प्रस्ताव स्वीकार गरेका हुन्।

रास्वपाका नेतासँग निरन्तर संवादमा रहेका कुलमानका विश्वासपात्र गणेश घिसिङले रास्वपासँगको एकताका लागि मिलनविन्दुको खोजी भइरहेको बताए।

रास्वपाका नेता शिशिर खनाल पनि निर्वाचन आयोगले दिएको समय सीमाभित्र मिलाउने अधिकतम प्रयास भइरहेको बताउँछन्।

उनेपाका नेता गणेश घिसिङ रास्वपाले निर्णय नदिएकै कारण सबै कुरा रोकिएको बताउँछन्। रास्वपा सभापति रवि लामिछानेले उनेपासँग मिल्ने सम्भावना कमजोर बनेको सन्देश दिएका छन्।