शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

देउवाको चेतावनी : ‘मेरो नाम भजाएर पार्टीमा विवाद नगर’-‘पार्टी फुटेको म हेर्न सक्दिनँ’

शुक्रबार, मंसिर १२ २०८२

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै नाम प्रयोग गरी पार्टीभित्र विवाद बढाउन खोजिएका गतिविधिप्रति असन्तुष्टि व्यक्त गरेका छन्। बिहीबार दिउँसो आफू निकट केन्द्रीय नेताहरूसँगको छलफलमा उनले ‘नियमित र विशेष महाधिवेशन’ को नाममा भइरहेको तानातानीप्रति कडा आपत्ति जनाउँदै चेतावनी दिएका हुन्।

बैठकमा सहभागी एक नेताका अनुसार सभापति देउवाले विशेष महाधिवेशनको कुरा उठिरहनु पार्टी विभाजनको जोखिम बन्न सक्ने भन्दै त्यसलाई आफूले सहन नसक्ने स्पष्ट बताएका थिए।

“साथीहरू चुनावअघि र पछि विशेष महाधिवेशनको पक्षमा उभिएपछि उहाँले हामी सबैलाई हर्काउनुभयो,” ती नेताले बताए, “सभापतिज्यूले मेरो नाम लिएर किन विवाद गरिरहेको भन्दै नै हप्काउनुभयो।”

देउवाले आफू कार्यकारी भूमिकाबाट निकै पहिले नै अलग भइसकेको भन्दै वर्तमान महाधिवेशनपछि सभापति नबन्ने निर्णय दोहोर्‍याए।
“अहिले कार्यवाहकलाई जिम्मेवारी दिएर बसेको छु। म महाधिवेशनबाट फेरि सभापति हुने हैन,” नेताले उद्धृत गर्दै भने, “मलाई किन विवादमा तानेको ?”

पार्टीमा महाधिवेशन चुनाअघि गर्ने कि पछि भन्ने विषयमा बढ्दो मतभेदका बीच देउवाले आज आफ्ना सात ‘भाइ नेता’ लाई छलफलका लागि डाकेका थिए। छलफलमा विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्ण सिटौला, विजयकुमार गच्छदार, डा. शशांक कोइराला र डा. प्रकाशरण महत सहभागी थिए।

कांग्रेसमा हाल पुस मसान्तभित्र महाधिवेशनको कार्यतालिका ल्याउनेगरी सहमतिको प्रयास भइरहेका छन्। तर महामन्त्रीद्वयले कार्यतालिका होइन, पहिले विशेष महाधिवेशन नै हुनुपर्ने अडान लिएपछि नेतृत्वभित्र विवाद बढ्दै गएको छ।