सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–७ डुमडुमे मन्दिर नजिक शरीरमा पेट्रोल छरेर आगो लगाई आत्मदाह प्रयास गरेका ५५ वर्षीय सूर्यप्रसाद पोखरेलको उपचारको क्रममा मृत्यु भएको छ।
प्रहरीका अनुसार सूर्यप्रसाद पोखरेल झापाको गौरादह नगरपालिका–२ निवासी धनपती पोखरेलका छोरा हुन्। गएसाँझ करिब ७ः४० बजे उनले आफ्नै शरीरमा पेट्रोल छरेर आगो लगाएका थिए। स्थानीयहरूले आगो लागेको देखेर करिब ७ः५० बजे इलाका प्रहरी कार्यालय लालबन्दीमा खबर गरेका थिए।
प्रहरी निरीक्षक वीरेन्द्र सिंह जोहारीको कमाण्डमा आएको टोली राति ८ः०० बजे घटनास्थलमा पुगेर आगोले गम्भीर रूपमा जलेका पोखरेललाई सिटि हेल्थ केयर लालबन्दीमा उपचारका लागि पुर्याएको थियो। आगोबाट उनका ९० प्रतिशत शरीर जलेको र अवस्था अत्यन्त गम्भीर रहेको बताइएको थियो। उपचारपछि उनलाई राति करिब ९ः०० बजे एम्बुलेन्समार्फत प्रादेशिक अस्पताल जनकपुरतर्फ पठाइयो। तर उपचारकै क्रममा बुधबार राति २ः१० बजे उनकाे मृत्यु भयो।
प्रहरीका अनुसार मृतकको पहिचान मोबाइलमार्फत भान्जासँग सम्पर्क गरी भएको हो। घटनाको कारण अहिले खुलेको छैन। शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमै राखिएको छ भने जिल्ला प्रहरी कार्यालय सर्लाहीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।