काठमाडौं । सरकारले नेपाल प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले यसबारे जानकारी दिएका हुन्।
बैठकले रक्षा मन्त्रालयका सचिव सुमनराज अर्याललाई मुख्यसचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ। बुधबारदेखि अनिवार्य अवकाशमा जान लागेका मुख्यसचिव एकनारायण अर्याललाई सरकारले औपचारिक रूपमा धन्यावाद जनाएको छ।
यस्तै, नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) ईश्वर कार्कीलाई अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गरी काठमाडौं उपत्यका प्रहरी कार्यालयमा पदस्थापन गर्ने निर्णय पनि भएको छ।
सरकारले नेपाल प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गरेको जनाएको छ। साथै नेपाल पानी जहाज कार्यालयमा कार्यरत सहसचिव प्रेमकुमार सिंहको राजीनामा स्वीकृत गरिएको जानकारी पनि प्रवक्ता खरेलले दिए।