काठमाडौँ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले नेता राजेन्द्र प्रसाद श्रेष्ठसहित ६ जना पदाधिकारी तथा केन्द्रीय निकाय प्रमुखलाई पार्टीको सबै जिम्मेवारीबाट पदमुक्त गरेको छ।
पार्टी परित्याग गरी ‘नेपाली कम्युनिष्ट पार्टी’ सँग एकीकरण गर्ने निर्णयको जानकारी दिएपछि अध्यक्ष अशोक कुमार राईले साेमबार एक विज्ञप्ति जारी गर्दै उनीहरूलाई पार्टीको अभिलेख तथा जिम्मेवारीबाट हटाइएको जानकारी गराएका हुन्।
कारबाहीमा परेका मध्ये पदाधिकारीका रूपमा राजेन्द्र प्रसाद श्रेष्ठ, रणध्वज कन्दवा र परशुराम बस्नेत रहेका छन्। त्यस्तै, केन्द्रीय निकायका प्रमुखहरू दुर्गामणी देवान, डा. पुष्पराज राजकर्णिकार र कृष्ण बहादुर धजुलाई पनि उनीहरूको जिम्मेवारीबाट मुक्त गरिएको जसपाले बताएको छ।
अध्यक्ष राईद्वारा जारी विज्ञप्तिमा पार्टी छाडेर गएको कदमलाई ‘आत्मसमर्पण’ को रूपमा व्याख्या गरिएको छ।